बुद्धकुमारी थेवे
सेनानी

सुरक्षा निकायमा महिला सहभागिता बढ्दो अवस्थामा रहेको छ । नेपाली सेनामा महिलाको सहभागिता बढाउन नेपाली सेनाले अहिले नीतिगत निर्णय नै गरेको छ । पछिल्लोपटक महिलाको सहभागिता संगठनमा बढाउन महिलाका लागि मात्रै छुट्टै दर्खास्त समेत आह्वान गरेको थियो । नेपाली सेनामा मात्र होइन अन्य सुरक्षा निकायमा समेत महिलाको सहभागिता बढाउन आरक्षणको समेत व्यवस्था गरेको छ । मुलुक निर्माणमा योगदान पुर्याउने महिलाका बारेमा नेपाल समाचारपत्रले मंसिर १५ गते आफ्नो ३४औं वार्षिकोत्सव पारेर अघि बढे महिला विशेषांक प्रकाशित गरेको थियो । सो विशेषांकमा नेपाली सेनाका सेनानी बुद्धकुमारी थेवेको अन्तरवार्ता समावेश गरिएको थियो । प्राविधिक त्रुटिका कारण सेनानी थेवेको अन्तरवार्ता छापिनुपर्नेमा अन्यथा भएको थियो । सोही विशेषांकलाई लिइएको अन्तरवार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली सेनामा महिलाको उपस्थिति कस्तो छ ?

समग्रमा वा संख्यात्मक हिसाबले सेनामा महिलाको उपस्थिति न्यून रहे तापनि शुरूको वर्षहरूको तुलनामा नेपाली सेनामा महिलाको उपस्थित बढ्दै गइरहेको छ। २०६० सालबाट साधारणतर्फ अन्य दर्जाका ओहोदामा (प्राविधिक, क्लर्क, सिपाही र फाल्र्वस आदिमा) र २०६१ वाट अधिकृत क्याडेटमा योग्यता र क्षमताका आधारमा महिला सैनिकहरूलाई नेपाली सेनामा भर्ना लिइँदै आएको छ। भर्ना प्रक्रिया नियमित रूपमा भइरहने हुँदा सेनामा अबका दिनमा महिलाहरूको उपस्थिति पनि बाक्लै हुने देखिन्छ। अहिले विश्वले नै महिलाहरूको उपस्थिति खोजिरहेको छ। त्यसमा शान्ति स्थापना कार्यको क्षेत्र एउटा राम्रो उदाहरण हो।

त्यस्तै गरी सेना र समाजबीच अन्तर सम्बन्ध हुन्छ। सेनाको बहुआयामिक कार्यहरू छन्। जुन कार्यहरू समाजभित्रै बसेर गर्नुपर्ने हुन्छ। त्यस्ता, हरेक कार्यहरूमा महिलाको उपस्थितिले धेरै अर्थ लाग्छ। हाल नेपाली सेनामा कार्यरत महिला सैनिकहरू जुनजुन क्षेत्रमा कार्यरत छन्, उनीहरूले प्रभावकारी रूपमा कार्य गर्दै आइरहेका छन्। जस्तैः शान्ति सेनामा खटिँदा किन नहोस्, खेलकुद क्षेत्रमा पनि।

नेपाली सेनाभित्र महिलालाई काम गर्ने वातावरण कस्तो छ ?

शुरूआती दिनमा स्वयम् हामी महिला अधिकृतहरू वा अन्य महिला सैनिकहरूलाई समेत नयाँ माहोल र नौलोपन महसुस भएको हो। यहाँको वातावरणसँग घुलमिल हुन निश्चित समय लागेको नै थियो। तर, आधारभूत तालिमकै दौरानमा हामीले जस्तो पनि वातावरणमा रहेर काम गर्ने क्षमता हासिल गरिसकेका थियौं।

सीमित स्रोत र साधनका बाबजुद पनि यस संगठनले समय सापेक्षरूपमा संगठनलाई महिला मैत्री बनाउन भौतिक तथा कानुनी तरिकाले व्यवस्थित गर्दै आइरहेको छ। जस्तैः बासस्थान तथा कार्यालयमा ट्वाइलेट, बाथरुमलगायतका संरचनाहरू क्रमशः निर्माण गरेर साथै, समय–समयमा विभिन्न निर्देशन तथा आचारसंहिताहरू समेत जारी गरेर महिलाहरूको व्यवस्थापनलाई व्यवस्थित गर्दै समेत लगेको छ। समग्रमा भन्नुपर्दा नेपाली सेनामा महिलाका लागि काम गर्ने वातारवण एकदमै राम्रो छ।

महिला सैनिकहरू भविष्यमा लडाइँ लड्न मैदानमा जान परे जान सक्छन् कि सक्दैनन्?

–नेपाली सेनाको सैनिक मूल मन्त्र ‘रक्षा सम्मान कल्याण आफ्नो देश नेपालको, सर्वप्रथम सदा जान धर्म कर्म सिपाहीको…ु हो। यही सैनिक मूल मन्त्रबाट महिला सैनिकहरू अछुतो छैनन्, हामी महिला सैनिकहरूको धर्म पनि देश र जनताको रक्षार्थ सधैंभरि तयार नै रहनु हो र परिआएको खण्डमा डटेर लड्नु पनि हो। किनकि हरेक सैनिकलाई तालिमले हरेक परिस्थितिसँग जुध्ने क्षमता प्रदान गरेको हुन्छ। त्यसैले परिआएको खण्डमा हरेक महिला सैनिकहरू युद्ध मैदानमा जान र लड्न सक्छन् र क्षमतावान् पनि छन्।

महिलाले चाहेमा नेपाली सेनाको संगठन हाँक्न सक्छन् कि सक्दैन्?

मलाई त १ सय प्रतिशत सक्छन् जस्तो लाग्छ। अनुकूल वातावरणमा तालिम, एक्सपोजर र अनुभव प्राप्त भएमा असम्भव छैन।

तालिमको दौरानमा महिला र पुरुष सैनिकबीच केही विभेद छ या छैन?
विभेद भन्नेबित्तिकै सैनिक ऐन, नियम, निर्देशिका तथा आचारसंहिता विपरीतका क्रियाकलापहरू हुन्। सेनाभित्र यस्ता किसिमका क्रियाकलाप हुनेबित्तिकै दोषी सजायको भागिदार हुन्छ। विभेद हुनु पनि हँुदैन र अहिलेसम्म भएको पनि छैन।

महिला सैनिकहरू विकट ठाउँमा पुरुष जसरी खटाएको ठाउँमा जान सक्छन्? सुनिन्छ सुगम क्षेत्रमा मात्र महिलाहरू भनसुन गरेर जाने गरेका छन् रे?

महिला सैनिकहरू सेनाद्वारा खटाइएको ठाउँमा गएका छन् र खटाएको ठाउँमा जानु पनि पर्छ। हामी सबै शारीरिक र मानसिक दुवै तरिकाबाट तयार छौं। तर महिला मैत्री बासस्थानको अभावका कारण अहिले संगठनले नै निश्चित क्षेत्रमा मात्र खटाएको छ। बासस्थान र अन्य पूर्वाधारहरू तयार गर्दै क्रमशः खटाउने कार्य भइरहेको छ। विकट तथा दुर्गम क्षेत्रहरूमा महिलाको उपस्थिति नदेखिनु महिला जान नचाहेर होइन।

LEAVE A REPLY