जेल तोडेर भाग्ने सिख नेता पुनः पक्राउ



नयाँदिल्ली, (एजेन्सी)

भारतीय प्रहरीले सोमबार पंजावको एउटा कारागार तोडेर भाग्न सफल एकजना सिख पृथकतावादी नेतालाई पुनः गिरफ्तार गरिएको जनाएको छ। प्रहरीले हरमिन्दर सिंह मिन्टु नामक ती नेतालाई राजधानी दिल्लीस्थित प्रमुख रेलवे स्टेसनबाट गिरफ्तार गरिएको जनाएको छ।

आइतबार पटियाला कारागारबाट मिन्टुलगायत अन्य पाँचजना कैदी भाग्न सफल भएका थिए। प्रतिबवन्धित खालिस्तान लिवरेसन फोर्सका नेता मिन्टुलाई असीको दशक र नब्बे दशकको शुरुमा पंजावमा भएका हिंसात्मक पृथकतावादी आन्दोलनमा संलग्न रहेको अभियोग लगाइएको थियो।

भारतीय सञ्चार माध्यमले सन् २००८ मा विस्फोटक पदार्थसहित पक्राउ परेका मिन्टु विरुद्ध एक दर्जन अभियोग दायर भएको जनाएका छन्। उनी विरुद्ध दायर गरिएका अधिकांश मुद्दामा उनलाई प्रमुख सूत्रधारको रूपमा उभ्याइएको छ।

तर उनका वकिल जसपाल सिंह मान्झपुरले कुनै पनि लडाकू गतिविधिमा उनलाई प्रत्यक्ष संलग्न रहेको अभियोग नलगाइएको दी इन्डियन एक्सप्रेस अखबारलाई बताएका छन्। कैदीले जेल तोडेर भागेको यस पछिल्लो घटनाले भारतीय सरकारलाई निकै लज्जित बनाएको छ। गत महिना पनि केन्द्रीय मध्ये प्रदेश राज्यको भोपाल शहरस्थित एउटा उच्चा सुरक्षा व्यवस्था गरिएको कारगारबाट आठ जना कैदी भाग्न सफल भएका थिए।

प्रहरीले चेतावनी दिँदा दिँदै अटेर गर्दा भोपाल नजिक प्रतिबन्धित इस्लामिक समूहका सदस्य रहेका ती भगौडा कैदीलाई गोली हानी मारिएको थियो। त्यसै गरी गत वर्ष पनि राष्ट्रकै सबैभन्दा कडा सुरक्षा पबन्ध भएको मानिने दिल्लीस्थित तिहाड जेलबाट दुईजना कैदी सुरुङ खनेर भाग्न सफल भएका थिए।

आइतबार बिहान सबेरै पटियालास्थित नवकारगारमा प्रहरीको पोशाकमा आएका पाँचजना सशस्त्र व्यक्तिले तिनीहरुलाई भगाएका थिए। पंजाव प्रहरी प्रमुख सुरेश अरोराले तिनीहरु त्याहाँ एकजना कैदी छोड्ने बहानामा आएको र गार्डलाई नियन्त्रणमा लिएपछि तिनीहरु कारगार प्रवेश गरेको पत्रकारहरुलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्