शेयरबजारलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्छः गभर्नर



नेपाल समाचारपत्र
काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उतारचडाव शेयरबजारको चरित्र भएको उल्लेख गर्दै उतारचढावबाट आत्तिन नहुने धारणा राख्नुभएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले शेयरबजारमा चतारचडाव संसारमा जहाँ पनिे हुन्छ। यो शेयरबजारको चरित्र नीतिगत कुराले यस्तो भइरहने बताउनुभयो।

शेयर बजार ओर्लिएमा आत्तिने बढ्दा धेरै खुशी हुने होइन यसलाई दीर्घकालीन लगानीका रूपमा हेरिनुपर्छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को स्थापना दिवसका अवसरमा बोल्दै उहाँले शेयरबजारमा जम्मा भएको पैसा कुनै एक संस्थाले एक क्षेत्रमा लगानी गर्छ। शेयर बजार भनेको छरिएर रहेको पैसा एकीकृत गर्ने थलो हो भन्नुभयो।

यसैबीच पछिल्ला केही दिन नेप्सेमा सुधार हुने क्रममा साताको चौथो बुधबार पनि जारी रह्यो। यस दिन नेप्से परिसूचक ५४ दशमलव ६५ अंकले बढेर १६०८ दशमलव ३३ अंकमा पुगेको छ।कारोबार शुरूभएको एक घण्टामा ३५ अंकले बढेको बजार आधा घण्टामा ३० अंकले घटे पनि त्यसपछि नेप्से लगातार उकालो लागेको हो।

बुधबार होटल समूह बाहेक सबै समूह बढेको छ। होटल समूह स्थिर रह्यो। यस दिन सबैभन्दा धेरै बैंकिङ समूह ५८ दशमलव ७४ अंक, विकास बैंक समूह ५७ दशमलव ८८ अंकले उकालो लागेको छ।

यस्तै जलविद्युत् समूह ४९ दशमलव ८४ अंक, फाइनान्स समूह २३ दशमलव २१ अंक र अन्य समूह ६ दशमलव ३६ अंकले उकालो लागेको छ। बुधबार १३५ कम्पनीको १५ लाख २५ हजार कित्ता शेयर ८ हजार ६ सय ८९ कारोबारबाट १ अर्ब ३६ करोड ३५ लाख ८१ हजार रुपियाँमा किनबेच भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, मितेरी विकास बैंक र वोमी माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै १४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरैले नाफा कमाएका छन्।

मिर्मिरे माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सको शेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेको छ। यस दिन एभरेष्ट बैंकको मात्र २० करोड बढीको शेयर कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा धेरै संख्यामा शेयर किनबेच भएको छ। बुधबार धेरै कमाउने र गुमाउनेमा विकास बैंक तथा लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्