पत्रकारिता हारेको समय



लाखौं पाठकहरूको प्रिय कामना प्रकाशन ३३औं वर्ष पूरा गरी आज ३४औं वर्षमा प्रवेश गरेको छ। एक जना श्रमजीवी पत्रकारको अगुवाइमा मात्र रु. ५०००।– लगानी गरी आजभन्दा ३३ वर्षअगाडि शुरु गरिएको यो प्रकाशन संस्थालाई लाखौं पाठकहरूको माया, साथ, सहयोग र विश्वास प्राप्त नभएको भए सायद यो संस्थाको यात्रा शिशु अवस्थामै टुंगिसक्थ्यो होला।

आफ्नो तीन दशकभन्दा लामो यात्रामा यस प्रकाशनले राष्ट्र, राष्ट्रियता, जनता र व्यावसायिक पत्रकारिताका लागि दिएको योगदानको मूल्यांकन गर्ने जिम्मा हामी सधैंभै अहिले पनि विद्वान् पाठकवर्गलाई नै छोड्न चाहन्छौं। तरल राजनीतिक अवस्थाका कारण मुलुकले तीन दशकयता भोगेका व्यथा र पीडाको क्षणमा यस प्रकाशन संस्थाले बेहोरेको आरोह–अवरोहबारे पनि हाम्रा पाठक अनभिज्ञ छैनन् भन्ने हामीलाई लाग्छ। जुनसुकै कठिन परिस्थितिमा पनि हामी राष्ट्र, राष्ट्रियता, जनता र व्यावसायिक पत्रकारिताको धर्मबाट किञ्चित विचलित नभएका कारण अहिले नेपाली पत्रकारिताको अस्वस्थ प्रतिस्पर्धामा यो प्रकाशन संस्था अलि पछि परेको हो कि भन्ने हाम्रा शुभचिन्तक पाठकहरूको चिन्ताप्रति हाम्रो असहमति छैन।

हो, अहिले मुलुकमा सत्य, तथ्य, निष्पक्ष र इमानदारिता हारेको अवस्था छ। यस्तो अवस्थामा इमानदारी पत्रकारिता मात्र अछूत रहने भन्ने कुरा आउँदैन। जसको शक्ति, उसको भक्ति छ। नियम–कानुन, न्याय–निसाफले सञ्चालन नभएको मुलुकमा पीत पत्रकारिता, अनि मिसन पत्रकारिताको बोलवाला हुनु स्वाभाविकै हो। सम्भवतः नेपाली मिडियामा देखिएको यही अराजकताले मुलुकमा समुद्री आँधीजस्तो पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरूको बाढी आए पनि अहिलेसम्म राजनीतिको नाममा भइरहेको गुण्डागर्दीलाई मिडियाले परास्त गर्न नसकेको अवस्था छ। पत्रकारिताको सबैभन्दा ठूलो सम्पत्ति भनेकै विश्वसनीयता हो, हिजोका दिनमा एउटा सानो साप्ताहिक पत्रिकाले सरकारको विरोधमा सानो समाचार मात्र लेखे पनि देश हल्लिन्थ्यो, हलचल मच्चिन्थ्यो। राजनीतिक विचलनसँगै पत्रकारितामा देखिएको विकृति, पीतपत्रकारिता र मिसन पत्रकारिताका कारणले मिडियाप्रति जनतामा गुमेको विश्वासले गर्दा अहिले सयौं मिडियाले लेखे पनि सरकारलाई त के, एक जना साधारण नेतासम्मलाई ऐया–उथु हुँदैन।

यसो भन्दैमा यस प्रकाशन संस्थाले हार भने खाएको छैन, पाठकवृन्द। ढिलै भए पनि एक्लो बृहस्पतिजस्तो हाम्रो हार हुनेछैन। जित अन्ततः सत्यकै हुन्छ भन्ने हाम्रो पूर्ण विश्वास छ। त्यसमा पनि सधैंझैं तपाईं पाठक, विज्ञापनदाता, विक्रेता र सहयोगी शुभचिन्तकहरूको माया, साथ, सहयोग, विश्वास र आशीर्वाद प्राप्त भएसम्म हामीलाई कसैले पनि विचलित गर्न सक्दैनन्। यस साथ र सहयोगका लागि हामी सधैं तपाईंहरूप्रति अनुग्रहित छौं र भविष्य पर्यन्त रहिरहनेछौं।

प्रतिक्रिया दिनुहोस्