डा. केसी अनशन प्रकरण बार्ता बार्तामै सिमित



नेपाल समाचारपत्र
काठमाडौं

डा.गोविन्द केसीको मागका बारेमा भएको बार्ता निष्कर्षमा पुग्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ। बार्ता बिफल भएपछि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सकहरूले डा.केसीको जीवन रक्षाको माग गर्दै बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन्। डा.केसीको स्वास्थ्य स्थिति अत्यन्तै गम्भिर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

रेजिडेन्ट डक्टर्स एसोसिएसनको मंगलबार बसेको बैठकले आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ। आवासीय चिकित्सकहरूको नेसनल रेजिडेन डक्टर्स एसोसिएसनका अध्यक्ष डा. लिजन मर्हजन, नेपाल मेडिकल सोसाइटीका अध्यक्ष डा. सागर पोखरेल, डक्टरा सोसाइटी अफ नेपालका डा. दिपेन्द्र पाण्डे, रेसिडेन्ट एशोसियसन अफ न्याम्सका अध्यक्ष डा. विष्णु भण्डारी, नेसनल डक्टर्स एसोसियसन अफ नेपालका अध्यक्ष डा. सन्तोष पौडेल, डा. तोसिमा कार्की, जुनियर रेसिडेन्ट वेयल फेयर सोसाइटीका अध्यक्ष डा.अजितकुमार यादव र सोलीडारिटी फर प्राडा.जी केसी, अलाइन्सका डा.जीवन क्षेत्रीलगायतका ८ वटा एसोसियसनका अध्यक्षहरूले डा.केसीको जीवन रक्षाको लागि अपिल गर्दै सामुहिक रूपमा विज्ञप्ति जारी गरेका छन्।

मंगलबार बिहान डा.केसीका माग पूरा गर्न र उहाँको जीवन रक्षाको माग गर्दै न्याम्सका आवासीय चिकित्सक तथा चिकित्सकहरूले वीर अस्पतालअगाडि धर्ना दिएका थिए। यसैबीच रेजिडेन्ट डक्टर्स एसोसिएसन, नेसनल डक्टर्स एसोसिएनलगायत आठ संस्थाले डा. केसीको मागमा अडिग भई कडा दबाबका कार्यक्रम ल्याउन नेपाल चिकित्सक संघलाई आग्रह पनि गरेका छन्।

डा. केसी १७ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। तीन दिनदेखि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता चलिरहे पनि निष्कर्षमा पुग्न कानुनी अड्चन आएको सरकारी वार्ता टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।
डा.केसीको पक्षबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.तीर्थ खनियाँ र त्रि.वि.चिकित्साशास्त्र अध्ययन संस्थानमा १७ दिनअघि नियुक्त गरिएका डिन डा.केशवप्रसाद सिंहको राजीनामा नभएसम्म कुनै सम्झौता नहुने अडान लिएपछि बार्ता बिफल भएको हो। मंगलबारै स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा.केसीलाई भेटी आफूले मंगलबार बस्ने मन्त्री परिषद्को वैठकमा विशेष समय लिएर कुरा राख्छु भन्दै बाहिरिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्