विद्युत् उत्पादनमा नयाँ प्रविधिको प्रयोग गरिँदै



रोशन पराजुली, हेटौंडा

लस्रोतमा विश्वको धनी देश भएर पनि लोडसेडिङको समस्या झेलिरहनु परेको अबस्थामा एउटा खुशीको खबर छ। दिनमा १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका नेपालीको यस्तो समस्या हल गर्ने सपना बोकेका छन् हेटौंडेली २५ वर्षीय युवा दीपकसिंह रुम्बाले। मकवानपुरको आमभञ्ज्याङ–४, चुवारका स्थायीबासी उनी पानी, घाम, आगो, हावा, डिजल र पेट्रोल प्रयोगबिना बिजुली निकाल्ने दौडमा छन्।

मिष्टिसिजम इलेक्ट्रोपावर प्रोब्लम सोलुसन प्रालिका निर्देशक रुम्बाले आफूले पानी, घाम, आगो, हावा, डिजल र पेट्रोल प्रयोग नगरी विद्युत् उत्पादन शुरू गर्न लागेको हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्।हिमालयन इन्टरनेसनल मल्टिपर्पाेज प्रालि नामक कम्पनीसँगको सहकार्यमा उनले विद्युत् निकाल्न आफ्नो कम्पनी मिष्टिसिजम इलेक्ट्रोपावर प्रोब्लम सोलुसन प्रालि खोलिसकेका छन्। रुम्बाले आवश्यक मेशिनहरू मगाइएको र करिब २० दिनमा प्रयोग गरी देखाउने प्रतिवद्धता व्यक्त गरे।

उनले ‘इलेक्ट्रो म्याग्नेटिक इनर्जी’ बाट विद्युत् निकाल्न लागिएको बताए। यस्तो प्रविधिले देशभर लोडसेडिङ हटाउन मद्धत गर्ने उनको दाबी छ। उनले १ मेगावाट विद्युत् उत्पादन गर्न ४० देखि ५० लाख रुपियाँ खर्च लाग्ने बताए। यहाँ १ मेगावाट भन्दा बढी विद्युत् उत्पादन भएपछि विद्युत् प्राधिकरणसँगको समन्वयमा राष्ट्रिय प्रसारण ग्रीडमा जोडिनेछ। कुनै गाविसले छुट्टै विद्युत्को आवश्यकता महसुस गरे ती गाविसलाई छुट्टै पनि उपलब्ध गराउन सकिनेछ। र, नेपाल विद्युत् प्राधिकरणको महसुलको तुलनामा निकै सस्तो पर्ने रुम्बाको दाबी छ।

विद्युत् उत्पादन गर्ने प्रक्रियालाई उनले प्रष्ट्याएका छन्। प्रयोग गरिने मेशिनले विद्युत् निकाल्न सकिन्छ भन्ने कुरा आफूले केही दिनपछि प्रयोग गरेर देखाउने उनले दाबी गरे। आफू नेपाल र भारतका विभिन्न स्थानमा भएका हाइड्रोपावरको स्थलगत अवलोकन र विशेषज्ञहरूसँगको छलफलपछि नयाँ ढंगले विद्युत् निकाल्न सकिने सोचमा पुगेको बताए। स्थलगत अवलोकनका लागि भारतको गोरखपुर पुगेर आफूले यही ढंगबाट विद्युत् उत्पादनको सफल परीक्षण गरेको उनको दाबी छ।

‘धेरै खोज र अनुसन्धान गरेर यस्तो तरिका निकालेको हुँ,’ उनले भने– यसबाट थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिन्छ। यसलाई शुरूमा हेटौंडाबाट प्रयोगमा ल्याउने र नेपालभरका सञ्चारमाध्यमलाई आवश्यकताअनुसार निःशुल्क विद्युत् उपलब्ध गराउने रुम्बाको लक्ष्य छ।

उनका अनुसार हेटौंडा–५, सानोपोखरामा भाडामा लिइएको करिब २ कठ्ठा जग्गामा करिब ५० लाख रुपियाँ खर्च गरी सेटअप बक्ससहित विद्युत् उत्पादनगृह स्थापना गरिनेछ। विद्युत् उत्पादनलाई आवश्यक सेटअप बक्स उनी आफैंले निर्माण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्