एम्बुलेन्सले गाउँमा खुसीयाली



नेपाल समाचारपत्र
बारा

बिरामी वा दुर्घटनामा परेका घाइतेलाई समय मै अस्पताल पुर्याउन नसकेर समस्यामा बेहोर्दै आएका बाराको हरैया रामनगरका बासिन्दाहरूले चन्दा उठाएर एम्बुलेन्स खरिद गरेका छन। एम्बुलेन्स सेवा संचालनमा आएपछि जिल्लाको चारकोसे झाडी दक्षिणपट्टी छेउको विकट वस्ति रामनगरका बासिन्दा खुसी बनेका छन।

एम्बुलेन्स संचालन गरेर अकाल मृत्युबाट मुक्त हुने गाउँलेले ३ बर्षअघि देखि साचेको सपना अघिल्लो महिनामात्र पुरा भएको छ। गाउमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित नबस्ने र औषधि समेत अभाव हुने र सानोतिनो समस्याबाट नै ज्यान गुमाउनु पर्ने दुखद घटना बेहोर्दै आएका स्थानीयले चन्दा संकलन गरेरै एम्बुलेन्स ल्याएका हुन। करिब ४ सय घरधुरी रहेको रामनगरमा गाउलेले १ सय देखि १० हजार रूपैयासम्म रकम संकलन गरेर एम्बुलेन्स खरिद गरेको समाजसेवी कल्याण सुबेदी बताउछन्।

बिरामीलाई अब कलैया र बिरगंजका अस्पताल पुर्याउन र उपचारमा सहज भएको हरैया गाबिस १ रामनगर निवासी ६० वर्षिया दुर्गा सुबेदीले बताइन। गाउँका अन्य सर्वसाधारण जस्तै सुवेदी पनि एम्बुलेन्स सेवा शुरू भएपछि खुसी छिन। “अब गाउका बिमारीले अस्पतालको मुखै नहेरि मर्नु पर्ने दिन सकिएको छ।” उनले भनिन्। रामनगर, पारी गाउँ निवासी ५५ बर्षिया कौशिला बिमली पनि गाउँमा एम्बुलेन्स आएपछि सुत्केरी हुने बेला भएकी महिलााई सजिलै बिरगंज पुर्याउन सकिनेमा ढुक्क छिन। “अब बिरामी पर्दा धेरै सजिलो भो, दिनभरी गाडी पर्खेर बस्दाबस्तै बिमारी सिकिस्तै हुन्थ्ये, अब त चाढै पुगिन्छ ज्यान जोगाउन सजिलो हुन्छ।” उनले भनिन्। कौशिलाकी छिमेकी २९ बर्षिया संगीता रिमाल पनि एम्बुलेन्सले गाउँलाई नै खुसी बनाएको बताउंछिन। उनले भनिन्– “सर्पले टोक्दा ज्यानकै माया मार्नु पथ्र्यो, अब त पीर छैन, समय मै उपचार गराएर ज्यान जोगाउन सकिने भो।”

जिल्लाको क्षेत्र नं. ५ का सांसद एवम् एमाले केन्द्रीय सदस्य बलवीर चौधरीले उदघाटन गरेपछि सेवा एम्बुलेन्स संचालनमा आएको हो। संसद चौधरीले स्थानीयले अनुकरणीय काम गरेको भन्दै विकासको लागि अन्य क्षेत्रका बाािसन्दाले पनि रामनगरबासीबाट सिक्नु पर्ने बताए। स्थानीयको सहमतीमा हाल एक सहकारी संस्थामार्फत एम्बुलेन्स सञ्चालन हुदै आएको छ।

बाराको पथलैया–निजगढ सडक खण्डको बिच महेन्द्र राजमार्गबाट करिब ९ किलोमिटर दक्षिण चारकोशे झाडी जंगलमा जोडिएको हरैया गाबिस जिल्ला सदरमुकाम कलैया दखि १२ किमि उत्तरमा पर्छ। अधिकांश सुकुम्बासी र कृषि मजदुरहरूको बसोबास रहेको हरैया जिल्लामा दुर्गम मध्येको एक गाविस मानिन्छ। गाबिसका अधिकांश बासिन्दा सट्टाभर्ना र एैलानी जग्गामा बसोबास गर्दै आएका छन। जसका कारण जग्गाधानी पुर्जा हातमा नहुदा बितिय सेवाबाट समेत स्थानीय बन्चित छन्। सामान्य बितिय सेवाका लागि वस्तिबाट निक्कै टाढा पर्ने निजगढ, सिमरा र कलैया पुग्नुपर्ने बाध्यता उनीहरूले बेहोर्दै आएका छन।
३० लाख दान संकलन

एम्बुलेन्स खरिद गर्न भनेर जिल्लाको गढिमाई नपा १६ पिलुवाका स्थानीयले आयोजना गरेको महायज्ञबाट ३० लाख ३३ हजार रूपैया दान संकलन भएको छ। आयोजक समितिले महायज्ञको आम्दानी खर्चको हिसाव किताव शुक्रबार सार्वजनिक गर्दै सो जानकारी गराएको हो। “एम्बुलेन्स सेवा अभावमा स्थानीयले समस्या बेहोर्दै आएका छन, महायज्ञ आयोजक समितिका अध्यक्ष माधवप्रसाद मैनालीले भने, दान रकमबाट खरिद गरेर चाढै संचालनमा ल्याउने तयारीमा छौं।” एम्बुलेन्स संचालन गर्न स्थानीयले गत कार्तिक २२ देखि २९ गतेसम्म महायज्ञ आयोजना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्