ठेकेदारको लापरबाहीले पुल निर्माण कार्य अलपत्र



दीपेन्द्र शर्मा, जाजरकोट

जाजरकोट डोल्पा सडकअन्तर्गत भेरी नदीको बैरीतालको पुल निर्माण कार्य अलपत्र परेको छ। ठेकेदारको चरम लापरबाहीको कारण रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ जोड्ने भेरी नदीको बैरीताल चिसापानीमा बन्ने पुल ३ वर्षदेखि निर्माण कार्य अलपत्र परेको छ।

भेरी नदीको वारिपारिका पिलरको निर्माण कार्यसमेत पूरा हुन सकेको छैन। दुवैतिरका पुलका पिलर आधा मात्र निर्माण भएर विभिन्न बहाना बनाएर अन्य निर्माणको काम २ वर्षदेखि रोकिएको छ। पुलको स्लापलगायत निर्माण कार्य शुरुआतसमेत हुन सकेको छैन। निर्माण कम्पनीको लापरबाहीले पुल निर्माणको बाँकी कार्य अलपत्र परेको हो।

आर्थिक वर्ष २०६९⁄२०७० मा पुलको निर्माणको जिम्मा आशिष निर्माण सेवा भरतपुर–१० चितवनले सडक डिभिजन चौरजहारी रुकुमका इन्जिनियर सुशील पौडेलले बताए। ८ करोडको लागतमा निर्माण हुने पुलको ६६ मिटर लम्बाइ रहेको पौडेलले बताए। सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई ३६ महिना म्याद हुने भएकाले निर्माण कार्य छिट्टै सकिने उनले बताए। पुल निर्माणको कार्यमा भइरहेको ढिलाइको बचाउ गर्दै पौडेलले भने स्टिल ट्रस लिन समस्या भएको हँुदा पुल निर्माण कार्य स्थगित भएको हो। रिम्नाबाट ढुवानी गर्न कठिनाइ भएकाले सो ठाउँमा बाटो बनेपछि मात्र काम गर्न सजिलो हुने पौडेलले बताए। पुलको निर्माणको अवधि आफूलाई थाहा नभएको भन्दै बताउन चाहेनन्। चालू आर्थिक वर्ष पुलको निर्माणसम्बन्धी कुनै पनि प्रगति नभएको इन्जिनियर पौडेलले बताए।

व्यवसायीले हचुवाका भर दररेट हाल्ने, सम्झौता गर्ने, पेस्की लिने र काम गर्दा आलटाल गर्ने प्रवृत्तिले काममा ढिलाइ भएको डाँडागाउँका स्थानीय प्रताप जैसीले बताए। पुल निर्माण ढिलाइ हुँदा जाजरकोट डोल्पा सडक, नलसिंह गाड जलविद्युत्लगायत आयोजना निर्माणमा बाधा पुगेको जैसीले बताए। समयमा पुल निर्माण नहँुदा स्थानीयलाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समस्या भएको उनको भनाइ छ। उक्त पुलको निर्माणमा गिटी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्रीको प्रयोग भएको स्थानीयले बताएका छन्। भेरी करिडोरमा पर्ने यो पुलको निर्माण अलपत्र पर्नु त्यसैमा कमसल सामग्रीको प्रयोग हुनु सम्बन्धित पक्षको उदासिनताका कारण समस्या भएको नागरिक अगुवा केशवजंग शाहले बताए। पुल निर्माणको ढिलाइले बारेकोट, दल्ली, लहँलगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।

प्रतिक्रिया दिनुहोस्