शेयर बजारमा आशा पलायो



नेपाल समाचारपत्र
काठमाडौं

मंगलबारको कारोबारपछि शेयर बजारमा केही आशा पलाएको छ। सोमबार निक्कै उतारचढाव लेखिएको शेयर बजार मंगलबार सुधार हुँदै ४३ अंकले बढेपछि शेयर लगानीकर्तालाई आशा पलाएको हो। शेयर बजारमा भएको सुधारसँगै लगातार गुमाउँदै गएका लगानीकर्तालाई केही राहत मिलेको छ।

मंगलबार कारोबार रकम एक अर्ब १६ करोड रुपियाँभन्दा बढी पुगेको छ। गत सोमबार पनि बजारमा उतारचढाव हुँदा नेप्से परिसूचकमा १ सय ५ अंकको अन्तर परेको थियो। त्यसो त शेयर बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डले बजारमा उतारचडाव आउँदैमा लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै आइरहेको छ।

मंगलबार नेप्से ४३ दशमलव शून्य १ अंकले बढेर १५५३ दशमलव १७ विन्दुमा पुगेको छ। अघिल्लो कारोबारको तुलनामा सोमबार नेप्से २ दशमलव ८५ प्रतिशतले बढेको छ। कारोबार शुरु भएको आधा घण्टा नहुँदै ४० अंकले झरेको बजारमा बजार बन्द हुने समयसम्म ४३ अंकले बढेको वृद्धि भएको छ। यस दिन होटल, उत्पादन र अन्य समूह बाहेक सबै समूहमा सुधार आएको छ। कारोबारमा सुधार आएपछि बजार उकालो लागेको हो। बीमा, जलविद्युत्, वाणिज्य बैंकलगायतका समूहमा उच्च सुधार भएको नेप्सेले जनाएको छ। कुल १ सय ३१ कम्पनीको शेयर किनबेच भएको मंगलबारको बजारमा एक अर्ब करोड १६ करोड रुपियाँ बराबरको कारोबार भएको छ। मंगलबार शेयर बजारमा आएको सुधारका कारण लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपियाँले वृद्धि भई १७ खर्ब २८ अर्ब रुपियाँ पुगेको छ।

मंगलबार राष्ट्रिय बीमा संस्थान र बुटवल पावर कम्पनीको शेयरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै राष्ट्रिय बीमा कम्पनी, कञ्चन डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रो फाइनान्स, ओमी माइक्रो फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंकलगायतको शेयरमूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ। त्यस्तै मंगलबार बोटलर्स नेपालको शेयरमा भारी गिरावट आएको छ। यो कम्पनीको शेयर मूल्य साढे सात प्रतिशतले घटेको छ। त्यस्तै गुडविल फाइनान्स, नेपाल कम्युनिटी डेभलपेमन्ट बैंक, अल्पानइन डेभलपमेन्ट बैंक तथा एमएमबि माइक्रोफाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले धेरै क्षति बेहोर्नु पर्यो।

त्यसैगरी एभरेष्ट बैंकको १४ करोड ९४ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ। बैक अफ काठमाडौं लुम्बिनीको करिब ६ करोड र शिखर इन्स्योरेन्स, नेपाल लाइफ इस्योरेन्स, सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सलगायतको पनि चार करोड रुपियाँ बराबरको कारोबार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्