नत्र …..



डा. केसी अहिले आमरण अनशनमा रहेका छन्। मुलुकका एक जना गतिला डाक्टरले जे जस्ता एजेण्डा उठाएर आमरण अनशनरुपी आन्दोलन गरिरहेका छन्, त्यो अवश्य पनि स्तुत्य रहेको छ। तर, धरहरा वरपर उनले जहिले पनि अनशन बसेको देखेर नकारात्मक टिका टिप्पणी पनि हुन थालेको छ। यसले गर्दा अनशन भन्ने अभियानको नै बदनाम होला कि भन्ने डर पनि यो धरहरालाई लाग्न थालेको छ।

किनकि व्यक्ति तोक्दै ‘यसो गरे गर नत्र अनशन’ भन्ने खालको उहाँको शैली अलि बढी भयो कि भन्ने धरहरा वरपर धेरैको चिन्ता रहन थालेको छ। कुनै पनि पदमा पुगेको व्यक्ति निश्चित मापदण्ड पूरा गरेर सो पदमा पुगेको हुन्छ। भोलि कसैलाई मन परेन भनेर यसो गरे गर नत्र अनशन भन्न थालियो भने मान्छे मर्यो भन्ने होइन कि काल पल्क्यो भन्ने हिसाबले चिन्ता व्यक्त गर्न थालिएको छ। भोलि कसैले ‘राजा चाहिन्छ नत्र …’, ‘हिन्दू राज्य चाहिन्छ नत्र ….’ भनेर अनशन शुरु गरे भने के गर्ने होला डा साब? भोलि प्रचण्ड होइन लक्ष्मण खड्कालाई प्रधानमन्त्री बनाउनुपर्छ नत्र … भनेर कसैले आमरण अनशन थाल्यो भने के गर्ने? प्रधानमन्त्री बन्न त संसद्मा बहुमत चाहिन्छ। अनशनको सुनुवाइ गर्ने कि संसद्मा बहुमत पुर्याउने? अनि डा. केसीलाई शिक्षण अस्पतालबाट निकाल नत्र … भनेर अर्कोले अनशन शुरु गर्ने हो कि?

पच्नेसम्मको काम गरेको भए हुन्थ्यो। आमरूपमा अहित गरेको एजेण्डाका विरुद्धमा अनशन बस्दा ठीक हुन्थ्यो होला। तर, व्यक्ति तोक्दै नत्र … भन्न थालियो भने नजीर कस्तो बन्ला? डा. साब जस्तो मान्छे मुलुकलाई आवश्यक छ। दबाब दिने अरू पनि तरिका छन्। यसरी किन आफ्नो स्वास्थ्यलाई अप्ठइरोमा पार्ने काम गरिरहनुभएको छ? सोचुम् है अबचाहिँ। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्