प्रचण्डले धोका दिएः मोर्चा ‘हामी आन्दोलनमै जान्छौं’



नेपाल समाचारपत्र
काठमाडौं

संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको भन्दै तीन बुँदे सहमतिको औचित्य सकिएको बताएको छ। तीन महिनाको बीचमा पटक–पटक संविधान संशोधन प्रस्ताव दर्ता गराउने आवश्वान दिए पनि प्रधानमन्त्री प्रचण्डले आफूहरूको माग पूरा गर्न बेवास्ता गरेको निष्कर्ष निकालेको हो।

संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा सोमबार बसेको गठबन्धन बैठकले अब पुनः संघर्षमा जानुको विकल्प नभएको बताएको छ। सरकारले आफूले बारम्बार संविधान संशोधन गर्छु भनेर मिति तोके पनि पूरा नभएपछि आफूहरूले थप १५ दिनको समयसीमा दिएको र त्यसमा पनि सरकारले बेवास्ता गरेको गठबन्धनले निष्कर्ष निकालेको हो। बैठकमा नेताहरूले आफ्नो वाचा पूरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए।

तत्काल बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरिने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो। तर बैठकले यसबीचमा सरकारले संशोधनको विषयमा छलफल गर्न चाहे भने आफूहरू त्यसका लागि खुला रहने निर्णय गरेको छ। अध्यक्ष यादवले भन्नुभयो– ‘सरकारले तीन बुँदे सहमति पालना गर्न इमानदारीता देखाएन। अलमलाउने, झुक्याउने र धोका दिने काममा सरकार लाग्यो। अब आन्दोलनको विकल्प छैन, हामी आन्दोलनमै जान्छौं।’

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। भेटमा प्रचण्डले मधेसी मोर्चाको सहमतिविना ल्याउने संविधान संशोधनको अर्थ नहुने बताउँदै सहयोग गर्न आग्रह गर्नुभएको थियो। जवाफमा अध्यक्ष यादवले १० प्रदेश नभई अहिलेको माग पूरा नहुने बताउँदै संविधान संशोधन प्रस्तावमा दश प्रदेशको प्रस्ताव ल्याउन आग्रह गरेको बैठकमा जानकारी गराउनुभएको थियो।

आगामी रणनीति तय गर्न बसेको बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरू सहभागी नभएपछि चार दिनभित्र पुनः बैठक बस्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्