डा. केसी अनशन प्रकरण दोस्रो दिनको वार्ता पनि विफल



भगवती तिमल्सिना, काठमाडौं

विगत १६ दिनदेखि चिकित्सा शिक्षाको सुधारको माग राख्दै आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको मागका बारेमा सोमबार भएको दोस्रो दिनको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।

सोमबार वार्तामा बसेका सरकारी टोली र डा. केसीका प्रतिनिधिहरुबीच आइतबार जस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया र चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डा. केशवप्रसाद सिंहको बर्खास्तीको विषयमा टुंगोमा पुग्न नसक्दा विना निष्कर्ष टुंगिएको हो।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुको सल्लाहबमोजिम आईसीयू कक्ष तयारी अवस्थामा राखिएको छ।

‘वार्तामा अन्य कुरामा सहमति भए पनि डा. सिंह तथा त्रिवि उपकुलपति डा. खनियालाई पदबाट बर्खास्त गर्ने बिषयमा टुंगो नलागेपछि वार्ता विना निष्कर्ष टुंगिएको छ’, केसीका प्रतिनिधि डा. लिजन महर्जनले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो। उहाँले अब डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै कठिन किन नहोस्, देशव्यापीरुपमा चिकित्सकहरु आन्दोलनमा उत्रने चेतावनी दिनुभयो। उहाँले मंगलबारदेखि वीर अस्पतालका आवासीय चिकित्सकहरु पनि ओपीडी सेवामा नजाने दाबी गर्नुभयो।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। उहाँको मुटुको चालमा फेरबदल हुने, मांसपेसी बाउँडिने, शरीरमा कमजोरीलगायतका समस्या देखिँदै आएको छ। यता पटक पटकको आमरण अनशनका कारण कमजोर हुनुभएका डा. केसीले उपकुलपति र डीनले राजीनामा नगरेसम्म अनशन नतोड्ने अडान कायम राख्नुभएको छ।

सोमबार डा. केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरु सडकमा उत्रिएका थिए। यसअघि डा. केसी आठौं अनशनमा १६ दिन बस्नुभएको थियो। यो दशौं अनसनमा १६ दिन बितिसक्दासम्म सरकार गम्भीर नदेखिनुले उहाँको जीवन रक्षका लागि हामी चिकित्सकहरु सडकमा उत्रिन बाध्य भएको र यसबाट पर्ने असरको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने डा. महर्जन बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्