संविधान संशोधनमा राप्रपाको पूर्ण समर्थन छः राणा



नेपाल समाचारपत्र
काठमाडौं
राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभएको छ। उहाँले मधेसको मुद्दा सम्बोधन गर्नका लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभएको हो।

राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्त्वपूर्ण विषयमा संशोधन हुन गइरहेको बताउँदै प्रदेशको सीमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानका लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरूमा स्थान दिने गरी संशोधनको तयारी भइरहेको बताउनुभयो। आफ्नो पार्टीले हिन्दूराष्ट्रका लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भए पनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पार्नुभयो।

‘अहिले हामी संसद्मा थोरै संख्यामा छौं। पास नहुने संशोधन हामी हाल्दैनौं। हिन्दुत्वका लागि हामी जनमत संग्रहको संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ।’ –राणाले भन्नुभयो। राप्रपा र राप्रपा नेपालबीचको एकतासँगै राप्रपा अब मुलुकको सशक्त शक्ति हुने दाबी गर्दै उहाँले आउने चुनावसम्म राप्रपाले आफ्नो वर्चस्व कायम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्