संविधान संशोधनविरुद्ध उत्रिए गुल्मेली



अनील खत्री, गुल्मी
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलका मागहरू सम्बोधन गर्ने नाममा संविधान संशोधन गर्न लागिएकोप्रति गुल्मेलीहरू आन्दोलनमा उत्रने भएका छन्। नेपाली जनताको अधिकतम सहभागितामा जारी भएको संविधानको सफल कार्यान्वयन गर्नुको सट्टा संशोधनतर्फ लाग्नुले थप जटिलता सिर्जना भएको भन्दै गुल्मेलीहरू आन्देलनमा उत्रने भएका हुन्।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा सदरमुकाम तम्घासमा विरोध र्याली गरी प्रमुख जिल्ला अधिमार्फत् सम्माननीय प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र पठाउदै जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ–संस्थालगायत आम गुल्मीबासीहरूले संशोधनको विरोधमा समर्थन जनाएका छन्। साथै उनीहरूले प्रदेश नम्बर–५ का पहाडी र तराईका जिल्लाहरूलाई टुक्राउने प्रस्ताव दर्ता हुन लागेको भन्दै प्राप्त गरेको उपलब्धिहरूलाई संशोधनको नाममा छिन्नभिन्न पार्ने दुस्प्रयास भएमा कडा सङ्र्घषमा उत्रने चेतावनी दिएका छन्।

लामो समयदेखि तराईका जिल्लाहरूसँग रहेको व्यापारिक सम्बन्ध आत्मीयता र एकतालाई प्रदर्शन गरेको कुरा सबैमा स्मरण गर्दै ज्ञापनपत्रमा आम गुल्मेली जनताहरूलाई असुविधा हुने गरी घोषित सीमांकनको हेरफेर हुँदै छ भन्ने राजनीतिक चर्चा संसद्मा पेस हुन लागेको संविधान संशोधनप्रति गुल्मेलीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। साथै गुल्मेलीहरूको भावनाविपरीत संविधान संशोधन भएमा ज्यानको आहुति दिनसमेत पछि नपर्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्