ढुंगागिटीमा जेलिएको जिन्दगी



नानीराम नेपाल
सिन्धुपाल्चोक
जंगलको छेउमा त्रिपाल टाँगेर दर्जनौं छाप्रा बनाइएका छन्। झट्ट हेर्दा लाग्छ भूकम्पका विस्थापितहरूको टहरा हो यो। तर होइन, यो त चोकटीका थामी समुदायको गरिखाने ठाउँ हो। गिटी कुट्दा घामपानी छल्नका लागि उनीहरूले त्रिपाल टाँगेर छप्रा बनाएका हुन्। घामपानी नभनी ढुंगाखानीमा ढुंगा फोरेर गिटी तयार गर्नुछ अनि जीवन धान्नुछ उनीहरूलाई।

कुनै समय गिट्ठा भ्याकुर र कन्दमुलले जीवन धान्दै आएका थामी समुदाय यतिबेला ढुंगागिटीले जिन्दगी धानिरहेका छन्। दिनभर गिटी कुट्छन् अनि बिहान–बेलुकाको छाक टार्छन् उनीहरू। गिटी कुटेरै दशैं मनाउनु त छँदै छ, भूकम्पमा भत्किएको घर ठड्याउनुछ उनीहरूलाई। भूकम्पको डेढ वर्षपछि गाउँबस्तीमा पुनर्निर्माणको काम शुरु हुनै लाग्दा यतिबेला चोकटीका थामी समुदाय ढुंगागिटीको काममा व्यस्त छन्। घामपानीको पर्वाह नगरी, रात–साँझ नभनी गिटी कुटिरहेका छन् उनीहरू। शुक्रबार चोकटीको ढुंगाखानीमा पुग्दा बालबालिका, बुढाबुढीहरूसँगै सुत्केरी महिलाहरू पनि गिटी कुटिरहेका भेटिए।
एउटा स्कुले उमेरको बालक। कपीकलम च्याप्ने हातले ढुंगा फोर्नुपरेको छ। पढ्ने रहरलाई थाती राखेर गिटी कुट्नु नै दैनिकी बनिरहेको छ उनका लागि। लाग्छ, गिटी कुट्ने बाहनामा आफ्नै भविष्यमाथि हम्मर बजारिरहेका छन् उनी। उनी अर्थात् चोकटी गाविस–३ का दश वर्षीय सुवेश थामी।

सँगैका साथीहरू स्कुल ड्रेसमा झोला बोकेर पढ्न जाँदा १० वर्षीय सुवेश थामीलाई पनि पढ्ने रहर नलागेको होइन। तर, पढ्ने रहर पूरा गर्ने सामथ्र्य छैन उनीसँग। उनका बाबु काठमाडौंमा ज्यामी गर्छन्, भूकम्पपछि आमाले घर नै छाडेर हिँडेपछि सुवेश गिटी कुटेर पेट पाल्न विवश बनेका हुन्। दिनभरि गिटी कुटेर उनी दैनिक एक सय रुपियाँ कमाउँछन्। पेट पाल्नका लागि मात्र होइन पढ्ने रहर साकार गर्नका लागि पनि उनी गिटी कुटिरहेका छन्। ‘गिटी कुटेर पैसा कमाउँछु अनि कापीकलम किन्छु, शुक्रबार चोकटीस्थित ढुंगाखानीमा गिटी कुटिरहेका उनले भने– ‘अनिमात्र स्कुल जान्छु।’

सवैका लागि शिक्षा भन्दै राज्यले वर्षेनी करोडौं रकम खर्च गर्छ। अझ गैरसरकारी संस्थाहरूले बालबालिकाका नाममा वर्षेनि कति खर्चन्छन् भन्ने लेखाजोखा नै छैन। बालबालिकाको शिक्षाका नाममा अर्बौं रकम खर्च भइरहँदा सुवेश जस्ता बालकहरू विद्यालय शिक्षाको पहुँचमा छैनन्। कपिकलम समाउनपर्ने कलिला हातले गिटी कुट्न परिरहेको छ।

बुढ्यौली उमेर, चाउरी परेका गाला। चोकटी–३ की ५५ वर्षीया राममाया थामीको जिन्दगी ढुंगागिटीमै झेलिएको छ भन्दा अत्युक्ति नहोला। विनाशकारी भूकम्पपछि गिटी कुट्नु नै उनको दैनिकी बनिरहेको छ। अन्नपात छैन, आम्दानीको कुनै स्रोत पनि छैन। गिटी कुटेरै जिन्दगी धान्नुको विकल्प नभएपछि सकी–नसकी ढुंगा फोरिरहेकी छन् उनी। दैनिक दुई डोको गिटी तयार गर्छिन् उनी। ठेकेदारले डोकाको ७० रुपियाँ दिन्छन्। दिनमा १ सय ४० कमाइ गरेर घर फर्कन्छिन् राममाया। गिटी कुटेर बिहान बेलुकाको छाक टारिरहेकी छन् उनी। ‘गिटी नकुटे बिहानबेलुका के खाने ?’ –ठेला उठेका हात देखाउँदै राममायाँले भनिन्।

पढाइ ५ कक्षा मात्रै। १३ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी चोकटीकी २० वर्षीया सरिता थामी पनि भूकम्पपछि ढुंगागिटीमा जीवन खोजीरहेकी छन्। भूकम्पले बास उठाएसँगै गाँसकै भर नभएपछि उनका श्रीमान् मजदुरी गर्न शहर पसे, उनी ढुंगागिटीमा जीवन खोज्न थालिन्। भूकम्पपछि गाँसको जोहो गर्नै समस्या भएपछि गिटी कुट्न थालेकी हुन् उनले। गरिखाने उपाय नभएपछि गिटी कुटेर जीवननिर्वाह गरिरहेको उनी बताउँछिन्। ‘जागिर खान पढाइ छैन, गरिखाने उपाय भएन’, उनी भन्छिन्– ‘अनि गिटी नकुटेर के गर्नु ?’
परिवारमा कमाउने कोही छैन। ५१ वर्षीया काइँली थामीका लागि गिटी नकुटे छाक टार्नै मश्किल छ।

प्रतिक्रिया दिनुहोस्