पूर्णसरसफाइको योजनामा जुटे स्थानीय



धनवीर दाहाल, रुकुम
रुकुमकोट–५ रुकुमका स्थानीय समाजसेवी भुवनेश्वर उपाध्याय यतिबेला आफ्नो टोल, छरछिमेकमा बिहानै सरसफाइका कुरा गर्दै हिँड्छन्। उनी जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि आफ्ना कार्यकर्ता तथा आफ्ना आफन्तलाई जतिबेला पनि सरसफाइका कुरा गर्छन्। कतिपयले उनलाई सरसफाइ बुढाको नामले पनि चिन्ने गर्छन्। उनीमात्र होइन सोही ठाँउका सुशीला गौतम, दामोदर शर्मा, वासुदेव गौतम पनि सरसफाइ अभियानमा जुटिरहन्छन्।

आफ्नो गाउँलाई कसरी सुन्दर र नमुना बनाउने भन्ने चिन्ता यतिबेला रुकुमकोटबासीलाई छ। रुकुमलाई सन् २०२० भित्र पूर्णसरसफाइयुक्त जिल्ला घोषणा गर्ने जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समुन्वय समितिको कार्ययोजनाअनुरूप गाविसस्तरमा यतिबेला स्थानीयहरू आफ्नो गाउँलाई सफा र रमणनीय बनाउन तम्सिएका छन्। सरसफाइका ६ सूचकलाई पूरा गर्नका लागि स्थानीयहरू एकजुट भएर लागिरहेका छन्। यसको उदाहरण हो पूर्वी रुकुमको एक पर्यटकीय क्षेत्र रुकुमकोट। रुकुमकोटबासीले २०७४ वैशाख १ गते नयाँवर्षको दिन पूर्णसरसफाइ गाविस घोषणा गर्नका लागि जुटिरहेका छन्।

रुकुमका चौखबांग र सिम्लीलाई यसै वर्षभित्र पूर्णसरसफाइ घोषणा गर्ने कार्ययोजना छ। अन्य गाविसहरू पनि धमाधम सरसफाइ हुँदै छन्। पछिल्लो समय ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, छिमेकी संगठन नेपाल र ग्रामीण आधारभूत विकास परियोजनाले रुकुमका रुकुमकोट, कोटजहारी र खोलागाउँलाई आगामि भाद्र महिनाभित्र पूर्णसरसफाइ घोषणा गर्नका लागि गाविसस्तरको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई सहयोग गरिरहेको छ।

आफ्नो गाउँलाई सुन्दर र उदाहरणीय बनाउका लागि रुकुमकोट मात्र होइन जिल्लाभरि नै स्थानीयहरू यसरी लागिरहेका छन्। रुकुमकोटमा भने आगामि २०७४ वैशाख १ गते नयाँवर्षका दिन पूर्णसरसफाइ गाविस घोषणा गरिने भएको छ। रुकुमकोटमा पूर्णसरफाइ रणनितिक कार्ययोजना तयार पार्दै गाविसस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले सो निर्णय गरेको हो।

गाविसस्तरीय पूर्णसरसफाइ रणनीतिक कार्ययोजना निर्माण कार्यशालामा रुकुमकोटबासीले आफ्नो गाविसलाई पूर्णसरसफाइ गाविस निमार्ण गर्नका लागि आगामि फाल्गुनभित्र सबै वडाहरू घोषणा गरिसक्ने निर्णय गरेका छन्। ग्रामीण खानेपानी तथा कोष विकास समिति (फन्डबोर्ड) को आर्थिक सहयोगमा छिमेकी संगठन नेपाल र ग्रामीण आधारभूत विकास परियोजनाको सहजीकरण रणनीतिक कार्ययोजना तयार गरिएको हो। यसै गरी रुकुमेली समाज विकास केन्द्र पहल परियोजनाले पनि सहजीकरण गरिरहेको छ। रणनीतिक कार्ययोजना निर्माण कार्यशालामा रुकुमकोट गाविसका राजनीतिक दल, शिक्षक, विद्यार्थी, आमा समूह तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्