छाउपडी प्रथा निवारण गर्न छलफल



विष्णुप्रसाद भण्डारी, अछाम

मंसिर ४ गते अछामको तिमिल्सेन गाविस–७ निवासी २६ वर्षीया डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएपछि जिल्लाका सरोकारवालाको त्यसतर्फ ध्यान गएको छ। त्यस विषयमा छलफल गर्न जिल्लास्थित सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय अछाममा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेनाको संयोजकत्वमा सम्पन्न बैठकमा तिमिल्सैन घटनाका विषयमा व्यापक छलफलसहित छाउपडी प्रथा निवारणका लागि नयाँ रणनीति तयार गर्ने निर्णय गरिएको छ। बैठकमा जिल्लाको पुनर्निर्माणको अवस्था, रात्रि मेला व्यवस्थापन र जिल्ला प्रशासन नजिक निर्माणाधीन स्मृति पार्कका विषयमा पनि छलफल गरिएको थियो।

छलफलका सहभागीहरूले मंगलसैन दरबार निर्माणमा भइरहेको ढिलाइ, स्मृति पार्कको मजबुत व्यवस्थापन र छाउपडी प्रथा निवारणका लागि बनेको रणनीतिक योजनाका बारेमा जिज्ञाशा राखेका थिए। उनीहरूले कि मंगलसैन दरबार निर्माणको काम तत्काल शुरु गर्नुपर्ने नभए ठेक्का नै रद्ध गरिनुपर्ने माग गरेका छन्। त्यस्तै बजार क्षेत्रमा सुधार गरिएका सडकहरूको नाजुक अवस्था र पुनर्निर्माण क्षेत्रमा बनेका सरकारी भवनहरू गुणस्तरहीन रहेकाले तत्काल मर्मत तथा सुधारका लागि पहल गर्नुपर्ने माग गरेका थिए।

जवाफमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख प्रकाश रघुवंशीले कुनै पनि काममा लापरबाही र मनपरी हुन नदिने भन्दै त्यसका लागि तत्काल पहल थालिने आश्वासन दिनुभएको छ। उहाँले मंगलसैन दरबार निर्माणमा भइरहेको ढिलाइ, जिल्लामा रहेका इलाकास्तरका स्वास्थ्य संस्था र स्मृति पार्क व्यवस्थापनका बारेमा विशेष चासो राख्नुभएको थियो। धेरैजसो सुधार गर्नुपर्ने काम तत्कालै अघि बढाइने र मंगलसैन दरबार निर्माणको काम अब पनि समयमै सुचारु नभए कानुनबमोजिम ठेक्का तोडिने भन्दै डिभिजन प्रमुख रघुवंशीले त्यसका लागि स्थानीय सरोकारवालाहरूले पनि साथ दिनुपर्ने बताउनुभएको थियो।

बैठकमा नेपाली कांग्रेसका उपसभापति चन्द्रप्रसाद ढुंगाना, नेकपा एमालेका सचिवालय सदस्य चन्द्र बोहरा, राप्रपाका जिल्ला कमिटी सदस्य कर्णबहादुर शाही, नेकपा मालेका दिलबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टीका जिल्ला संयोजक झंकरबहादुर शाही, नयाँशक्ति नेपालका रवीन्द्र शाही, नेकपा माओवादीका जिल्ला सेक्रेटरी शेरबहादुर विश्वकर्मा, नेकपा क्रान्तिकारी माओवादीका खडकसिंह भण्डारी, अन्तरपार्टी महिला सञ्जालका सरिता उपाध्याय, दुर्गा बक्स गणका सेनानी रामराज भ∞, प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्ट, सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति राधेश्याम धिमाल, जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टलगायत कार्यालय प्रमुख, विभिन्न संघ–संगठनका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्