भारतमा नोट प्रतिबन्धविरुद्ध विपक्षी पार्टीको विरोध



नयाँदिल्ली, (एजेन्सी)

भारतीय विपक्षी राजनीतिक पार्टीहरुले सोमबार सरकारले दुईवटा नोटमाथि लगाएको प्रतिबन्धविरुद्ध आयोजना हुने राष्ट्रव्यापी विरोध प्रदर्शनमा हजारौं व्यक्तिको सहभागिता हुने बताएका छन्। यसै महिनाको शुरुमा सरकारले ५ सय र १ हजारको नोटलाई रातारात प्रतिबन्ध लगाएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रतिबन्धको वकालत गर्दै यसलाई भ्रष्टाचारविरुद्धको सटिक कदमको संज्ञा दिएका थिए। तर विपक्षी पार्टीहरुले यस कदमको दुरुपयोग भएको दाबी गरेका छन्। गत साता तिनीहरुले संसद् अवरुद्ध गर्दै मोदीले यस निर्णयका लागि क्षमा माग्नुपर्ने बताएका थिए।

अधिकांश भारतीय जनतालाई यस नोट प्रतिबन्धले जीवनशैली कष्टकर बनाएको छ। अधिकांश विपक्षी राजनीतिक पार्टीले सरकारविरुद्धको प्रदर्शनमा भाग लिने बताएका छन्। कम्युनिस्टहरुको सरकार रहेको भारतको दक्षिणी केरला राज्यले यस नोट प्रतिबन्धको विरोधमा बन्दको घोषणा गर्ने अनुमान गरिएको छ।

त्यसै गरी पूर्वी शहर कोलकाताले विशाल जनप्रदर्शन गर्ने योजना बनाएको छ। दक्षिणी शहर बैंगलोरमा प्रमुख विपक्षी दल कंग्रेस पार्टीले आयोजना गर्ने विरोध र्यालीमा हजारौं व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ। भारतमा करिब ९० प्रतिशतभन्दा बढी आर्थिक कारोबार नगदमा हुने गर्दछ।

अधिकांश भारतीयको बैंक खाता छैनन्। ती दुईवटा प्रतिबन्धित नोट करिब ८६ प्रतिशत नोट कारोबारसँग सरोकार राख्दछ। उक्त नोट प्रतिबन्धपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आइतबार जनतालाई डिजिटल भुक्तानी गर्न र सकेसम्म नगदमा कारोबार नगर्न आग्रह गरेका थिए।

गतसाता पूर्वप्रधानमन्त्री मनमोहन सिंहले सरकारको अत्यन्तै चलनचल्तीमा रहका ती नोटमाथिको प्रतिबन्धलाई अत्यन्तै ठूलो त्रुटीपूर्ण व्यवस्थापनको संज्ञा दिँदै यसैकारण राष्ट्रको कुल गाहस्र्थ उत्पादन करिब २ प्रतिशतले घट्ने बताएका थिए। मोदी सरकारले ती नोटलाई प्रतिबन्ध लगाएयता जनता बैंकमा आफ्ना नोट साट्न लामो लाइनमा बस्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्