फ्रान्समा राष्ट्रपतीय चुनावको प्रारम्भिक चरणमा फिलों विजयी



पेरिस, (एजेन्सी)

फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि दक्षिणपन्थी दलका तर्फका उम्मेदवार तथा फ्रान्सेली सरकारको आकार घटाउने बचन दिने परम्परागत सुधारवादी फ्राँस्वा फिलोंले आफ्ना प्रतिद्वन्द्वी अलाँ जुपेलाई प्रारम्भिक चरणको मतदानमा आइतबार पराजित गरेका छन्।

अमेरिकी शैलीमा भएको प्राथमिक चरणको निर्वाचनमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टी तथा उसका सहयोगी दलका तर्फबाट उम्मेदवार हुने पूर्वप्रधानमन्त्री ६२ वर्षीय फिलोंलाई नयाँ नेताका रूपमा समर्थन प्राप्त भएको छ।

यस प्रारम्भिक चरणको निर्वाचनमा १० हजार २ सय २९ मतदान केन्द्रमा मतदान भएको थियो र नौ हजार ९ सय १५ मतदान केन्द्रमा खसेको मत गणना हुँदा फिलोंले ६६ दशमलव ५ प्रतिशत मत प्राप्त गरेका छन्।

निर्वाचनपछिको आफ्नो दलको एक बैठकमा मध्यमार्गी जुपेले पराजय स्वीकार गरेका थिए भने फिलोंले अब फ्रान्सले अधोगति नसहने र मुलुकले सत्य र वास्तविक काम चाहेको बताएका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्पको विजय तथा बेलायतमा युरोपेली युनियन परित्यागका लागि भएका निर्वाचनमा स्थापित परम्पराको विरोधमा मतदान भएको देखिएपछि फ्रान्सेली निर्वाचनलाई पनि यस्तै अवधारणाको परीक्षणको रुपमा हेरिएको छ।

अब फिलोंले अप्रिल तथा मे महिनामा हुने दुई चरणको निर्वाचनमा कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका नेता म्यारिन ल पेंको कडा प्रतिस्पर्धा भोग्नुपर्ने भएको छ।

आइतबार रातिका दुई सर्वेक्षणमा फिलों ल पेंभन्दा अगाडि देखिएका छन्। उनका तुलनामा बामपन्थी उम्मेदवार पछि परेका छन्। राजनीतिज्ञ तथा सन् २००७ देखि २०१२ सम्म प्रधानमन्त्री बन्नुभएका फिलोंले फ्रान्स विद्रोहको नजिक पुगेको र सार्वजनिक क्षेत्रका पाँच लाख नोकरी कटौती गर्ने तथा व्यवसायलाई नियमित गर्ने आफ्नो योजना हाल निरुत्साहित फ्रान्सका लागि ऊर्जावर्धक औषधि हुने दाबी गरेका छन्।

क्याथोलिक धर्म मान्ने फिलोंले आप्रवासी र इस्लामप्रति कडा धारणा राखेका छन् र उनले गत साता आप्रवासीको सम्बन्धमा ‘अर्काको घरमा प्रवेश गर्ने व्यक्तिले सोही घरलाई नियन्त्रणमा लिने काम गर्न नहुने’ बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्