रहस्यले भरिएको क्यास्त्रोको जीवनी



हवाना, (एजेन्सी) क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्त्रोको ९० वर्षको उमेरमा गत शनिबार निधन भयो। क्युबामा कम्युनिस्ट क्रान्तिका जनकका रुपमा ख्याति कमाएका फिडेलले आफ्नो जीवन सुरक्षाका लागि यति धेरै व्यवस्था कडा पारेका थिए कि उनको बारेमा बाहिरी विश्वलाई अत्यन्त कम कुरा मात्र थाहा हुन्थ्यो वा लामो समयपछि मात्र मानिसहरुलाई जानकारी हुन्थ्यो।

उनी आफैले एकपटक बेलायती पे्रससँगको कुराकानीमा भनेका थिए– ‘फिडेल क्यास्त्रोलाई कति रहस्यहरुसँगै चिहानमा सुताइयो भन्ने कुरा कहिल्यै थाहा पाउन सकिन्न।’

क्युबामा उनको निजी जीवनका विषयमा कुरा हुँदैनथ्यो। सञ्चारमाध्यमले पनि त्यसको समाचार बनाउँदैनथ्यो। उनको तस्वीरसम्म पनि लिन दिइँदैनथ्यो। क्यास्त्रोको कडा सुरक्षा व्यवस्थाको सबैभन्दा ठूलो कारण भनेको उनलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएबाट खतरा थियो। यस विषयमा क्यास्त्रो आफैले हवानामा सन् २००० मा एउटा प्रेस सम्मेलनमा भनेका थिए– ‘उनीहरुलाई कुनै दिन म बाथरुम नगएको पनि जानकारी राख्न चाहन्छन्। उनीहरु मेरो पौरुष ग्रन्थी (प्रोस्टेट)को आकारका विषयमा पनि थाहा पाउन चाहन्छन्।’

क्युबा र क्यास्त्रोमाथि निगरानी राख्दै आइरहेका सीआईएका मुख्य विश्लेषक ब्रायन लाटेले भनेका थिए– ‘विश्वको कुनै पनि वस्तुको भन्दा कम मात्र जानकारी क्यास्त्रोको निजी जीवनका बारेमा उपलब्ध छ।’

क्यास्त्रोको जीवन एक प्रकारले रहस्यले भरिपूर्ण थियो। उनको जीवनीको केही रहस्यमा उनको जन्मलाई लिएर नै बनेको छ। क्यास्त्रोको जन्म कहिले भएको थियो भन्ने विषयमा पनि एकमत छैन। दस्तावेजअनुसार उनको जन्म १९२६ मा भएको थियो। तर शोधकर्ताहरु उनको जन्म १९२७ मा भएको बताउँछन्। क्यास्त्रोमाथि एउटा पुस्तक लेखिसकेका मारियो बेयराका अनुसार क्यास्त्रोले माथिल्लो कक्षामा भर्ना हुनका लागि आफू जन्मेको वर्ष एक वर्षअगाडि लेखाइएको थियो। यो कथन क्युबाली क्रान्तिको शुरुआतको वर्षमा उनकी आमा लिना रुजले दिएको बयानसँग मिल्न आउँछ।

त्यसै गरी क्यास्त्रोको नाम पनि बाहिरी जगत्मा धेरै द्विविधा र≈यो। उनको आधिकारिक नाम फिडेल एलेज्यान्ड्रो थियो। शोधकर्ताले उनले आफ्नो वास्तविक नाम बदलेको बताएका छन्। उनको वास्तविक नाम फिडेल हिपोलिटो रुज गोन्जालेज भएको क्यास्त्रोको शुरुका दिनको दस्तावेजबाट पत्ता लागेको ब्राजिलका शोधकर्ता क्लाउडिया फेरियाटीले लेखेकी छिन्।

१९३८ देखि १९४१ सम्म को दस्तावेजमा उनको नाम फिडेल अलेज्यान्ड्रो क्यास्त्रो रुज बन्यो। अनुसन्धानकर्ताका अनुसार अलेक्ज्यान्डर द ग्रेटको नामबाट प्रभावित भएर क्यास्त्रोले आफ्नो नाममा अलेक्ज्यान्ड्रो जोडेका थिए।

क्यास्त्रोको घरलाई लिएर पनि रहस्य बनाइएको छ। उनको घरलाई क्युबाली गुप्तचर सेवाले जिरो प्वाइन्ट नाम दिइएको थियो। उक्त घरको विषयमा विश्वलाई पहिलो पटक क्यास्त्रोको छोराकी पूर्वप्रेमिकाले जानकारी बाहिर ल्याएकी थिइन्। उनले उक्त घरको भिडियो एउटा अमेरिकी टेलिभिजन युनिभिजनलाई उपलब्ध गराएकी थिइन्।

क्यास्त्रोको घरका बारेमा आज पनि रहस्य नै बनेको छ। यो हवानाको गल्फ कोर्स मैदानमा घोडाको आकृतिमा बनेको भवन हो।क्यास्त्रोको सम्पत्तिलाई लिएर पनि विश्वमा निक्कै चासो रहेको थियो तर सन् १९९७ मा मात्र फोब्र्स अखबारले क्यास्त्रोको सम्पत्तिको आकलन गरी उनलाई धनीहरुको सूचीमा समावेश गरेको थियो। सन् २००६ मा उनको सम्पत्ति ९० करोड डलर आकलन गरिएको थियो। तर क्यास्त्रोले उक्त आँकडा झुठो भएको बताएका थिए।

क्यास्त्रोको पारिवारिक जीवनका बारेमा पनि विभिन्न अनुमान हुने गरेको छ। उनका पत्नी र बच्चाको संख्यालाई लिएर पनि फरक फरक विचार तथा अनुमान आउने गरेका छन्। केही शोधकर्ताले उनको १० सन्तान भएको बताएका छन् भने केहीले ११। सन् २००९ मा एन लुइस बारडेकले ‘विदाउट फिदेल’ नामक पुस्तकमा क्यास्त्रोको कम्तीमा ६ जना महिलाबाट ११ बच्चा भएको उल्लेख गरका थिए।

प्रतिक्रिया दिनुहोस्