‘लोडसेडिङ हट्नुमा प्राधिकरण भित्रको अवैध व्यापारमा रोक’



नेपाल समाचारपत्र
काठमाडौं

ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणभित्रको अवैध व्यापार रोकेको कारण काठमाडौंमा लोडसेडिङ हटेको दाबी गर्नुभएको छ।

२८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठनले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री शर्माले विद्युत प्राधिकरणकै कतिपय उच्च अधिकारीहरूले बिजुलीको कालो व्यापार गरेकाले मुलुक अन्धकारमा फसेको पनि बताउनुभयो। मन्त्री शर्माले आफूले त्यस्तो कालो धन्दा अन्त्य गरिदिएको कारण लोडसेडिङ हटाउन सम्भव भएको बताउनुभयो।

‘कतिपय उद्योग र ठूला व्यवसायीलाई विजुली बेचेर मोटो कमिशन असुल्ने तर जनतालाई अँध्यारोमा राख्ने भ्रष्टहरूको दिन समाप्त भएको छ,’ मन्त्री शर्माले भन्नुभयो ‘प्राधिकरण इमान्दार र क्षमतावान व्यक्ति आएकोले अब त्यस्तो जनविरोधी काम ठप्प भइसक्यो।’

‘नेपालको पानी जनताको लगानी’ नामक ऊर्जा कार्यक्रमलाई इमान्दारिताका साथ अघि बढाएमा देश विकासको गतिलाई तीव्रता दिन सकिने मन्त्री शर्माको भनाइ छ। नेपालमा रहेको अपार जलस्रोत जनताको लगानी सुनिश्चित गरेर अघि बढ्ने ३७ बुँदे कार्यक्रम ऊर्जा मन्त्रालयले अघि बढाइसकेको जानकारी दिँदै मन्त्री शर्माले यसमा साथ दिन पनि आग्रह गर्नुभयो। सो कार्यक्रम राज्यमाथि जनताको स्वामित्व कायम गराउने अभियान समेत भएको मन्त्रीको धारणा रहेको छ।

सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सफल कार्यान्वयन पश्चात् मुलुकमा राजनीतिक स्थिरता कायम हुने र आर्थिक विकासको चरण सुरु हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्