सात खेलाडी शून्यमा आउट



नेपाल समाचारपत्र
काठमाडौं

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्डमा जारी एसीसी महिला टी–२० एसिया कपमा अर्को एक ठूलो हार बेहोरेको छ। शनिबार पहिलो खेलमा पाकिस्तानी टोलीसँग ९ विकेटले हारेको नेपालले श्रीलंकासँग आइतबारको खेल ८ विकेटले गुमायो। बैंककको एसियन इन्सिच्युट अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालको ब्याटिङ नै दयनीय बनेको थियो। नेपालले १६.२ ओभरमा सबै विकेट गुमाएर २३ रन बनाएको थियो।

जवाफमा उत्रेको श्रीलंकाले २ विकेटको क्षेतिमा ४.३ ओभरमै मात्र २४ रनको लक्ष्य भेटाएको थियो। नेपालकी कप्तान रुबिना क्षत्री बेलबासेले पहिलो ओभरमै सफलता हात पारेकी थिइन्। उनले श्रीलंकन ओपनर चमिरा अटापटु जयनगानीलाई १ रनमा इन्दु वर्माद्वारा क्याच गराएर आउट गराइन्। यसबेला विपक्षी ३ रनमा थियो। अर्को विकेट करुणा भण्डारीले दिलाइन्। उनले ओपनर मेन्डिसलाई आउट गर ेपनि श्रीलंकाका लागि जित्न ३ रनको आवश्यक थियो। कप्तान हासिनी पेरेराले श्रीलंकालाई जित दिलाइन्। उनले १४ बलमा १७ रन बनाएर नटआउट रहिन्।

यसअघि नेपाली ब्याटिङ अति नै खराब शैलीले शुरू भएको थियो। ओपनर तथा विकेटकिपर ब्याट्सओमेन ज्योति पाण्डेले मात्रै नेपालको लाज राखेकी थिइन्। उनले ३९ बलको सामना गर्दै धैर्यताका साथ १६ रन जोडिन्। जुन नेपाली ब्याटिङमा सर्वाधिक योगदान र एक मात्र दोहोरो अंकको रन सावित भएको थियो।
नेपाली ब्याटिङको अर्को कमजोरी आठ जना खेलाडीले रनै जोड्न सकेनन्।

काजल श्रेष्ठ, नेरी थापा, इन्दु वर्मा, रश्मी चौलागाईं, करुणा भण्डारी, सरिता मगर, संगीता राई र सरस्वती कुमारीले खाता खोल्न पाएनन्। जबकि सीता मगरले ४ रन र कप्तान रुबिनाले १ रन बनाए। श्रीलंकन बलरमा सुगन्डिका कुमारीले घातक बलिङ गरेकी थिइन्। उनले ७ रन दिएर ३ विकेट लिइन्।

यो नतिजापछि ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल अंकविहीन हुँदै अन्तिम स्थानमा यथावत रहेको छ। दुई खेल नै हारेको आयोजक टोली थाइल्यान्ड पाँचौं स्थानमा छ। त्यस्तै चार–चार अंक जोडेका भारत र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। श्रीलंका तेस्रो र बंगलादेशले चौथो स्थान ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्