प्रधामन्त्रीलाई माओवादी पोलिट्ब्युरोको सुझाव



नेपाल समाचारपत्र
काठमाडौं

माओवादी केन्द्रको शनिबार बसेको पोलिट्ब्युरो बैठकले मधेसी समुदायसँग सहमती गरेर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको छ। सो बैठकमा प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी र संघीय गठबन्धसँग सहमति गरेर मात्र संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने बताउनुभएको थियो। मधेसी मोर्चाले आफूहरूको माग सम्बोधन नहुने गरी आउने प्रस्ताव मान्य नहुने चेतावनी दिएपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले सहमतिको आधारमा मात्रै प्रस्ताव अगाडि बढाउने बताउनुभएको हो।

प्रस्ताव अगाडि बढाउनका लागि संशोधनको ड्राफटसमेत तयार भए पनि सत्तारूढ दल नेपाली कांग्रेस र मधेसी मोर्चाको असहमतिको कारण संविधान संशोधनमा प्रधानमन्त्रीले नयाँ विकल्प अगाडि सार्नुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्दको पोलिटब्यूरो बैठकमा पार्टीको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले एमालेले असहमति जनाए पनि मोर्चासँग सहमति कायम गरेर मात्र अगाडि बढ्ने बताउनुभएको छ। पार्टीभित्र मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि ल्याइने प्रस्तावमा मधेसी मोर्चा नै असन्तुष्ट रहेको अवस्थामा पुनः केही दिन छलफल गरेर मात्र अगाडि बढ्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका थिए। बैठकमा प्रधानमन्त्रीले मधेसी मोर्चाले सहमति नजनाएसम्म दर्ता गर्नुको औचित्य नहुने भन्दै पुनः छलफल थाल्ने बताउनुभयो।

पार्टीका प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीले मधेसी मोर्चा र संघीय गठबन्धनसँग सहमति कायम गरेर मात्र संविधान संशोधन प्रस्ताव अगाडि बढाउने प्रधानमन्त्रीले जानकारी गराएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘असन्तुष्ट दलहरूको माग पूरा गर्न ल्याइने संविधान संशोधन प्रस्तावलाई सहमतिको साथ अगाडि बढाउन पुनः छलफल हुन्छ।’ प्रधानमन्त्री प्रचण्डले आइतबार (आज) सत्तारूढ दल कांग्रेस, मधेसी मोर्चा र अन्य राजनीतिक दलहरूसँग परामर्श गरेर संविधान संशोधनको बारेमा निर्णयमा पुग्ने बताउनुभएको छ। बैठकमा प्रचण्डले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्ने तीन महिने कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

बैठकले क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो, माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै समवेदना प्रकट गरेको थियो। अर्को बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्