स्थायित्व कायम हुन नदिन संशोधन प्रस्तावः ओली



नेपाल समाचारपत्र
बारा

पूर्वप्रम एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको नाममा सरकारले देशमा अस्थिरता निम्त्याउन खोजेको बताएका छन्।

बाराको निजगढमा पार्टीको पहिलो नगर अधिवेशन उद्घाटन गर्न पुगेका अध्यक्ष ओलीले शनिबार उक्त कुरा बताएका हुन्। उनले वर्तमान संसद्ले संविधान संशोधन गर्न नसक्ने पनि बताए।

‘रूपान्तरित संसद्को जिम्मेवारी संविधानले नै तोकेको छ’, नेता ओलीले भने– ‘संविधान कार्यान्वयनबाहेक यसले संशोधन गर्न सक्दैन।’ उनले समयमै स्थानीय निकाय, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचन गरेर कार्यान्वयनमा लाग्नुपर्ने पनि बताए।

अध्यक्ष ओलीले आफ्नो पार्टी संविधान संशोधन गर्नै हँुदैन भन्ने पक्षमा नरहेको बताए। ‘कार्यान्वयनको क्रममा समस्या देखिए संशोधन गरौंला’, उनले भने– ‘तर संशोधन नाममा जे मन लाग्यो त्यही गर्न पाइँदैन।’ उनले देश र जनताको हित विपरीत हुने गरी सरकारले हाल गर्न लागेको संशोधनको पक्षमा एमाले उभिन नसक्ने पनि बताए।

नेता ओलीले अस्थिरता कायम गरेर देश र जनताको उन्नति हुन नदिने षड्यन्त्रअन्तर्गत सरकारले संविधान कार्यान्वयनको काम छोडेर संशोधन प्रस्ताव ल्याउन लागेको पनि बताए। उनले आफ्नो नेतृत्वको सरकारले देशको आर्थिक समृद्धि र सामाजिक विकासका लागि प्रभावकारी योजना अघि सारेपछि नेपाली जनताको हित नचाहने केहीले विदेशी शक्तिको इसारामा सरकार ढालिएको र त्यही शक्तिको आडमा वर्तमान सरकारले अहिले संशोधन प्रस्ताव ल्याउने तयारी गरेको पनि बताए। ‘संशोधनको नाममा अस्थिरता सृजना गरेर विकासको प्रवाह रोक्न खोजिएको छ’, नेता ओलीले भने– ‘जनताले यसको प्रतिवाद गर्नुपर्छ।’ अस्थिरता सृजना गरेर जनतालाई आत्मनिर्भर हुन नदिने योजनामा विदेशी शक्तिले तत्कालीन सरकार ढालेको र एमाओवादी, नेपाली कांग्रेस र मधेसवादी दलबीच अप्राकृतिक गठबन्धन कायम गराएको पनि उनले बताए। ओलीले आफू नेतृत्वको सरकार कायम रहिरहेको भए यतिबेला संविधान कार्यान्वयसँगै देश विकासले पनि गति लिइसक्ने दाबी गरे। अस्थिरता सृजना गरेर देशलाई अस्तव्यस्त पार्न नै वर्तमान गठबन्धन सरकार गठन भएको र यसले सोहीअनुसार काम गरिरहेको बताए।

अध्यक्ष ओलीले नेकपा एमाले जहिले पनि नेपाली जनताको एकता र विकासको पक्षमा रहेको पनि बताए। ‘जातीय पहिचानको नाममा हिमाल पहाड र तराईलाई टुक्रइएर देश र जनताको विकास हुन सक्दैन’, अध्यक्ष ओलीले भने– ‘देश विकासका लागि सबै जात र क्षेत्रका जनतामा एकता र सद्भाव आवश्यक छ।’ अध्यक्ष ओलीले मधेस र जनजाति विरोधी भनेर प्रचार गरिएकोमा दुःख व्यक्त गर्दै आफ्नो पार्टी सबै क्षेत्र र सम्प्रदायका जनताको पक्षपाती भएको पनि दाबी गरे। ‘पहाड र हिमाललाई टुक्रइउनुहुँदैन भन्दा कसरी मधेस विरोधी हुन्छ?’, ओलीले प्रश्न गरे– ‘क्षेत्रीयतावादी र साम्प्रदायिक भावना बोकेर कसरी सबै जनतामा एकता र सद्भाव कायम गर्न सकिन्छ।’ उनले आफ्नो पार्टीले गलत कामको सधैं भण्डाफोर गर्ने र नेपाली जनताबीचको एकता र सद्भावको पक्षमा उभिरहने पनि बताए।

प्रतिक्रिया दिनुहोस्