“हामीले त सानैमा बिहे गर्यौं, तिमीहरू नगर”



दुर्गाप्रसाद शर्मा, पर्वत

त्रे गाविस–८ की रितु सुनारले १४ वर्षको उमेरमै छिमेकी किशोरसँग विवाह गरिन्। विवाह गरेको केही महिनापछि नै उनी गर्भवती भइन्। उमेर नपुगीकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्याहरू देखिए। बच्चा पनि जन्मियो तर बच्चा जन्माउन निकै समस्या र आर्थिक बोझसमेत व्यहोर्नुपर्यो। अहिले उनको पहिलो सन्तान पाँच वर्षको भइसकेको छ भने लगत्तै दोस्रो सन्तान पनि जन्माइन्, दोस्रो सन्तान एक वर्षको काखमा छ।

उनी मात्रै हैन सोही गाउँकी शिला सुनारको १५ वर्षको उमेरमा, शान्ति विकको १४ वर्षको कलिलो उमेरमा विवाह भयो। विवाहपश्चात व्यक्तिगत स्वास्थ्य समस्यासँगै परिवारमा पनि थुप्रै खालका समस्या आउन देखिए।

सिंगो गाउँमै बालविवाह गर्ने लहर बढ्दै जाँदा समाजमा विकृति फैलिएको ठहर गर्दै पछिल्लो समय स्थानीय किशोरीहरू सक्रिय बनेका छन्। बालविवाह रोकी स्वच्छ र सबल समाज निर्माण गर्ने उद्दश्यले स्थानीय किशोरीहरू एकजुट भएर लागेका हुन्। १४ वर्षदेखि २४ वर्षसम्मको उमेर समूहका किशोरी तथा युवतीहरू मिलेर स्थापना गरेको भूमि युवा महिला समूहले गाउँमा विकृतिको रूपमा रहेको बालविवाह न्यूनीकरण गर्न अहिले सचेतना फैलाउन थालेका छन्।

दलितको मात्र बस्ती रहेको वडा नं. ८ मा झन्डै दुई दर्जन घरपरिवार रहेका छन्। आर्थिक रूपमा विपन्न परिवारहरू शिक्षाको कमीका कारण बालविवाह बढ्दै गएको र सामाजिक स्वास्थ्यमै प्रतिकूल असर देखिएपछि यो अभियानमा जुटेका समूहकी अध्यक्ष सन्तोषी विकले बताइन्। उनले भनिन्– ‘विगत दुई वर्षअघिसम्म गाउँमा बालविवाह गर्ने किशोर किशोरीहरूको संख्या ह्वात्तै बढेको थियो तर अहिले पूर्ण रूपमा हटेको छ।’ बालबालिका, किशोरकिशोरी र अभिभावकसम्म सचेतना फैलाउन सफल भएपछि उक्त प्रचलन हटेर गएको उनले बताइन्। गाउँका झन्डै दुई दर्जनभन्दा बढी दम्पतीहरूले बालविवाह गरेको उनीहरूको अनुमान छ।

अहिले उनीहरूको समूहमा १२ जना सदस्यहरू रहेका छन्। उनीहरू गाउँमा १४ वर्ष उमेर पुगेका किशोरीहरूलाई बालविवाह, घरेलु हिंसालगायतमा सचेतना फैलाउने, उनीहरूलाई आयआर्जनका क्रियाकलापमा सहभागी गराउने, विद्यालय बाहिर रहेकाहरूलाई विभिन्न स्रोतहरू जुटाएर विद्यालयसम्म पुर्याउने अभियान थालेका छन्। उनीहरूको अभियानमा प्लान इन्टरनेसनल नेपाल र इन्प्रेड नेपाल पर्वतले समेत हातेमालो गरेको छ। उनीहरूलाई आयआर्जनका क्रियाकलापका साथै किशोरी शिक्षा, विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाई बालविवाह रोक्ने अभियान थालिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेलले बताए। उनले भने– ‘उक्त कार्यक्रम लागू भएपछि अहिले गाउँमा बालविवाह रोकिनुका साथै स्थानीय बालबालिका तथा अभिभावकमा समेत चेतना अभिवृद्धि भएको छ। २० वर्षपारि बिहेवारी भन्ने नारालाई गाउँमा लागू गर्न सफल भएको उनको अनुभव छ।

स्थानीय जीवनज्योति प्राविका प्रधानाध्यापक तारानाथ पौडेलले दलित समुदायमा विकृतिको रूपमा रहेको बालविवाह पछिल्लो समयमा पूर्ण रूपमा हटेर गएको बताए। उनले बालबालिका शिक्षाको पहुँचसँगै चेतनाको स्तर वृद्धि भएका कारण बालविवाह जस्तो गैरकानुनी गतिविधि हुन छाडेको पनि बताए।

महिला समूहकी सचिव विनिता विक अहिले कक्षा १२ मा अध्ययनरत छिन्। उनी उक्त दलित समुदायमा सबैभन्दा धेरै पढ्नेमध्येकी एक हुन्। उनी भन्छिन्– ‘शिक्षाकै कमीका कारण आफ्नो गाउँमा बालविवाह गर्ने प्रथा बढेको रहेछ अहिले भने हटेर गएको छ।’ समूहमा आबद्ध युवतीहरूले आफ्नो खाजा खर्च कटाएर मासिक बचतसमेत गर्ने गरेका छन्। अहिले उनीहरूको समूहमा वचत १७ हजार रुपियाँ पुगिसकेको छ। उक्त रकम मासिक रूपमा सस्तो ब्याजदरमा लगानी गर्ने र अन्य आयआर्जनका क्रियाकलापमा समेत खर्चिन थालेका छन्। गाउँमा युवती तथा किशोरीहरू एकजुट भएर अभियान थालेपछि अभिभावकसमेत सचेत हुन थालेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्