५ सयभन्दा बढी मालवाहक कन्टेनर सडकमा रोकिए



हिमनाथ देवकोटा, रसुवा
सुवामा हिजोदेखि टोकन सिस्टम शुरू भएको छ। रसुवागढी नाका तथा पासाङल्हामु राजमार्गमा अत्यधिक सवारीको चाप बढेर दुर्घटनाको जोखिम समेत बढेपछि ट्राफिक व्यवस्थापनका लागि शनिबारदेखि टोकन सिस्टम शुरू गरिएको हो।

टोकन सिस्टम लागू भएसँगै केरुङबाट सामान बोकेर आएका कन्टेनरमध्ये ५० वटा कन्टेर मात्र नेपाल भित्रन पाउनेछन् भने सामान लिन केरुङ जान लागेका ५० वटा खाली कन्टेनर रसुवागढी जान पाउनेछन्।

जिल्लाको विभिन्न तीन स्थानमा रहेको प्रहरी चौकीबाट टोकन वितरण हुनेछ। वेत्रावती, स्याफ्रु र रसुवागढीस्थित प्रहरी चौकीबाट टोकन वितरण गर्ने प्रक्रिया शुरू भएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बताउनुभयो। नाकामा कम चाप भएमा सयभन्दा बढी मालवाहक कन्टेनर प्रवेश गर्न पाउनेछन्।

टोकन सिस्टम शुरू भएसँगै रसुवागढी नाकामा दैनिक एक सय मालवाहक कन्टेनर मात्र चलाउन पाइने प्रहरी नायब उपरीक्षक प्रसाईंले बताउनुभयो। अन्तर्राष्ट्रिय व्यापारिक नाका अव्यवस्थित भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले टोकनको प्रक्रिया अघि बढाएको हो।

नाकामा अत्यधिक सवारीसाधनको चापले गर्दा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ हुने, सवारीसाधनको निश्चित पार्किङ स्थान हुँदा नाका अव्यवस्थित हुने तथा रसुवागढी जलविद्युत् आयोजनाको काम आइतबारबाट सुचारू हुन लागेकाले ट्राफिक व्यवस्थापन गर्न मालबाहक कन्टेरका लागि मंसिर ५ गतेबाट नै टोकन सिस्टम लागू गर्न खोजिए पनि टोकन नआइपुग्दा ढिलाइ भएको हो।

पासाङल्हामु राजमार्गको रसुवाखण्डमा पाँच सयभन्दा बढी मालवाहक कन्टेनर सडकमा रोकिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार वेत्रावतीदेखि धुन्चेसम्म २ सय ५०, धुन्चेदेखि स्याफ्रुसम्म डेड सय र टिमुरेमा २ सयभन्दा बढी मालवाहक कन्टेनर सडकमा रोकिएपछि यातायात सञ्चालनमा समस्या आएको छ। चीनको केरुङतर्फ सडक मर्मतको काम भइरहेकाले केरुङ जानका लागि तयारीमा रहेका ५ सयभन्दा बढी कन्टेनर रसुवाखण्डमा रोकिएका हुन्।

सवारीको उच्च चापका कारण टोकन वितरण गर्दा लोड गाडी, निर्माण सामग्री बोकेका तथा सामग्री बोकेर चीन जान लागेका मालवाहक कन्टेनर प्राथमिकतामा राखेर वितरण गरिने प्रहरी नायब उपरीक्षक प्रसाईंले बताउनुभयो। ‘रसुवामा सवारीको उच्च चाप रहेको छ, व्यवस्थापनका लागि एक साता लाग्छ’ –प्रसाईंले भन्नुभयो।

अब दैनिक ५० वटा मालवाहक कन्टेनर चीनतर्फ जाने भएका छन्। चिनियाँ पक्षले दैनिक ५० वटा सवारीसाधन सञ्चालनका लागि अनुमति प्रदान गरेको छ। राजमार्गमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिमसमेत बढेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाअनुसार आर्थिक वर्षको पहिलो चार महिनामा १७ वटा सवारी दुर्घटना भएको छ। १० वटा मालवाहक कन्टेनर, २ वटा ट्रक, ३ वटा मोटरसाइकल, एउटा जिप र एउटा ट्रिफर दुर्घटना भएको हो।

दुर्घटनामा परेर १ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। १० भन्दा बढी मालवाहक कन्टनेर रसुवाखण्डमा पल्टिएका छन्।

प्रतिक्रिया दिनुहोस्