खुमबहादुर खड्का
नेता, नेपाली कांग्रेस

खुमबहादुर खड्का पदमा भए पनि, नभए पनि राष्ट्रिय राजनीतिमा सदाबहार छाउनु भएको छ। भ्रष्टाचारको आरोपमा जेल परे पनि आफ्नो पार्टीमा उहाँको पकड बलियो देखिन्छ। हिन्दु राष्ट्रको पक्षमा कांग्रेस नभए पनि उहाँ त्यस आन्दोलनलाई बोकेर हिँडिरहनु भएको छ। संविधान सभाको पहिलो चुनावमा दाङ क्षेत्र नं १ बाट एमाओवादीका इन्द्रजित चौधरीसंग हारे पनि सांसद हुनु र नहुनुमा राजनीति गर्न उहाँलाई केहीले पनि रोकेको छैन। प्रस्तुत छ, समसामयिक बिषयमा नेपाल समाचारपत्रका लागि कृष्णराज चौधरी र मधुसुदन रायमाझीले उहाँसँग गरेको कुराकानीका मूख्य अंशहरूः

महाधिवेशन भएको ९ महिना भयो। तर कांग्रेस पार्टीभित्र त पदाधिकारी चयनलाई लिएर निकै किचलो देखियो नि ?

महाधिवेशन अघि मेरो र सभापति शेरबहादुर देउवाको बीचमा उपसभापति मलाई दिने सहमति भएको थियो। सहमति मलाई नै बनाउने भएको थियो। तर केही परिस्थितिका कारणले मैले तपाईलाई बनाउन सक्दिन, मलाई अपठ्यारो पर्यो भनेर सभापतिले भन्नु भो। मैले स्पष्ट रुपमा भनेको छु– तपाईको अधिकारको कुरा हो। तपाईलाई जो सजिलो लाग्छ, उसैलाई बनाउनुहोस् तर छिटो बनाउनुहोस्। पार्टी लथालिङ्ग छ। शशांकजी विरामीजस्तो हुनुहुन्छ, पार्टी कार्यालयमा जानुहुन्छ। कोषाध्यक्ष मन्त्री हनुहुन्छ। पदाधिकारी चयन भयो भने कम्तिमा पार्टी राम्रोसँग सञ्चालन हुन्छ।

किन पदाधिकारी चयन हुन नसकेको ? साठी र चालिसको भागवण्डा नमिलेर हो ?

यो त सभापतिले नै जवाफ दिनुहोला। मैले त छ महिना अघि नै सभापतिलाई पदाधिकारी चयन गर्नु भनेको हो। केही कारणले मलाई पठाउन अप्ठ्यारो छ भने तपाईले जसलाई बनाए पनि भयो। म पदको लागि मर्ने मान्छे होइन। पार्टी संगठन कमजोर हुन्छ। स्थानीय चुनाव हुँदैछ। संसदको चुनाव १४ महिना मात्र बाँकी छ भनेको हुँ। अब छिटै गर्छु भन्नु भएको छ। क–कसलाई बनाउनुहुन्छ, त्यो मलाई थाहा भएन।

तपाईले गोपालमान श्रेष्ठलाई उपसभापति बनाउन समर्थन गर्नु भो भन्छन् नि ?

मैले समर्थन वा विरोध केही गरेको छैन्। जो साथी भएपनि मलाई समस्या छैन्। मलाई आपत्ति छैन। म नहुँदा पनि गोपालमानजी हुँदा राम्रै हुन्छ भनेको छु। उहाँ पुरानो मान्छे हो। गोपालमान हुनैपर्छ भन्ने छैन। जो आएपछि समर्थन नै हुन्छ।

कांग्रेसको हरेक महाधिवशेनमा गुटबन्दी सकियो भनिन्छ। तर गुट झन संस्थागत हुँदै जान्छ के कारण हो ?

यो नेतृत्वमा भर पर्ने कुरा हो। जो सभापति हुन्छ। उसले सबैलाई समेटेर लग्यो भने गुटबन्दी मत्थर हुँदै जान्छ। हरेक पार्टीमा दबाब समुह हुन्छ। हाम्रो पार्टीभित्र पनि छ। हाम्रो पार्टीभित्र अलिकता छताछुल्ल हुने गरी बाहिर आउँछ, फरक त्यत्ति हो। यसलाई हटाउने काम सभापतिको हो।

महाधिवेशनपछि तपाईको गुट पनि अस्तित्वमा आयो नि त ?

–पार्टीभित्र मेरो सबै साथीहरूसँग राम्रै छ। पार्टीभित्र मेरो गुट अहिले देखिको होइन। पहिल्यैदेखि नै थियो। मेरो गुट गिरिजा बाबुकै पालादेखि थियो। म अहिले पावरमा छैन। जो पावरमा हुन्छ, उसैको बोलवाला हुन्छ नि त। म त फुटपाथमा छु। नेविसंघ, तरुण दल र महिला संघले सबैले माया गर्नुभएको छ। पार्टीभित्र मेरो लगानी र त्याग र इमान्दारीतालाई सम्मान गर्नुभएको छ। त्यहीँ ठूलो कुरा हो। जबसम्म सबै कुरा मिल्दैन, तबसम्म सबै पार्टीभित्र गुटबन्दी हुन्छ।
खास मिल्न नसकेको के हो ?

महाधिवेशन अघि मलाई उपसभापति बनाउने सहमति भएको थियो। सभापति अहिले मलाई बनाउन सकिदैन भन्नु हुन्छ। हो, यस्तै कारणले मिल्न नसक्ने भनेको हुँ। म त मान्छे हुँ। भगवान होइन नि। भगवानको पनि लाइक डिसलाइक हुन्छ। मेरो पनि चित्त त दुखेको होला। तर पनि म सहन सक्छु। यस्तो धेरैकुरा मैले सही सकेको छु।

फुटपाथमा छु भन्नु भो। तर चुनावमा पार्टीको टिकट बाँड्ने ठाउँसम्म तपाईको भूमिका देखिन्छ नि। होइन ?

यस अघि टिकट बाँडने बेलामा म जेलमा थिएँ। देशभरीको को साथी कस्तो सबैलाई चिन्छु। सायद म जतिको देशैभरीको साथीहरूलाई चिन्ने पार्टीभित्र कमै साथीहरू होलान्। पार्टीभित्र इमान्दार साथीहरूलाई अन्याय गर्नु हुँदैन। अहिले कताकता जातीय कुरा आएको छ। त्यसलाई पनि समेटेर लैजानु पर्ने अवस्था छ। यो र त्यो गुट नभनी जानु पर्छ। संविधानले नै समावेशी स्वीकार गरेको छ। चुनाव नै जित्दैन भने टिकट किन खेर फाल्ने ? जित्नेलाई दिनु पर्यो। प्रधानमन्त्री र मन्त्री हुनको लागि मात्र राजनीति गरेको त होइन। हामीले लामो समय जेल बस्यौ। हामीसँगको साथीहरू कति मारिए। हामी त मारिनुबाट बँचेको न हो।

चुनाव खर्चिलो हँुदै गएको छ। टिकट पाउनको लागि पोका नबुझाई नहुने अवस्था आएको हो ?

२०५६ सालमा मैले मेरो केही हात थियो। पोको बोक्ने अवस्था हुन्छ भन्ने कल्पना नै नगरिएको थिएन। तपाईले कस्तो खाले पोका भनेको हो, मैले बुझिनँ। जातजाति सबैलाई समावेशी हुने गरी टिकट बाँडेको हो। समावेशी ढंगले टिकट दिइनु पर्छ भन्ने मेरो बुझाइ हो। राप्रपामा कति समावेशी छ ? एमालेमा त भीम रावल बाहेक सबै बाहुन मात्र छन्। अब त समावेशी गर्नुपर्छ नत्र चल्दैन। दलित, महिला, जनजाति सबैलाई समेटनु पर्छ। महिलालाई ३३ प्रतिशत कोटा दिइने भनिएको छ। तर मुखले भनेर मात्र हुँदैन । नेताले यस्तो कुरामा विवेक पुर्याउनु पर्छ। जे गरिन्छ, संविधानमा व्यवस्था गरेको जस्तो लागू गर्नुपर्छ।

१२ बुँदे सहमति भएको एक दशक पूरा भयो। तपाई पनि त्यसबेला एक पिलरको रुपमा हुनुहुन्थ्यो। यसलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?

–१२ बुँदे सहमति हुँदा सबै खुसी भए। देशलाई निकास दिन्छु भनेर खुसी भए। १२ बुँदेमा सबै कुरा छैन। नभएको कुरा हुँदा आज लागू हुँदा देशको अवस्था के भो ? धर्मनिरपेक्षता, गणतन्त्र संघीयताको कुरा थिएन। पावरमा भएपछि नेताहरूले एकपछि अर्को गल्ती गर्दै गएका छन्। देश त लथालिङ भएको छ। लाखौ युवाहरू वदेशिएका छन्। हामीले केही पनि गर्न सकेनौ। हिजो हाम्रो देशको राष्ट्रियता मजबुत थियो । तर आज त्यो कमजोर छ। एमालेले त राष्ट्रियता मुद्धा नै बनाएको छ। यो अवस्था के कारणले आयो ? माओवादीका पूर्व लडाकुहरूको कन्तविजोग छ। जो भएपनि उ नेपाली हो। उनीहरूको व्यवस्थापन गर्ने पहिलो काम प्रचण्डको हो। उहाँ त अहिले सरकारको प्रधानमन्त्री पनि हुनुहुन्छ।

द्वन्द्वमा पर्ने धेरैले क्षतिपूर्ति पाएनन्। तपाईले त क्षतिपूर्ति पाउनु भयो । के क्षतिपूर्ति पनि ठूलाबडाले मात्रै पाउने हो ?

अख्तियारले मेरो घरको मूल्याङ्कन ५६ लाख गरेको थियो। मुद्धा लगाउदा ५४ लाखको लगायो। दाङको घर मन्त्री भएर बनाएको होइन। मैले मुद्धा हारें, जेल पनि बसे। दुइ चार लाख पनि नलाग्ने गोठको मुल्याङकन २४ लाखको गरेको थियो। २०४९ मा गोठ बनाएको, २०५१ मा फर्म दर्ता गरेको थिएँ। न्यायाधिशहरूले २०५४ सालमा बनायो भन्छन्। प्रमाण सबै हेर्न सक्नु हुन्छ। सम्पत्ति विवरण बुझाइएको थियो। मैलै स्वीकार गर,े जेल बसेर आए। क्षतिपूर्ति दावी गर्दा धेरैले पाएका छन्। तर केही साथीहरूले पाएका छैनन्। म विरामी भएको कारणले दिइयो। म यो देशमा तीन तीन पटक गृह मन्त्री भएँ। डेमोक्रेसीको लागि मैले जति सहयोग गरेको मान्छे कांग्रेसभित्र को छ ? कांग्रेसभित्र करोड पाएका छन्। मलाई १५ लाख दिंदा होहल्ला भयो। अहिलेको गृहमन्त्रीको सिफारिसमा भर्खरै २ करोड बाँडिएको छ। मसँग भएको भए लिने थिएन। पावर र पदमा थिइनँ त्यसैले नभएर लिएको हो। भन्न पो सजिलो छ त मान्छेलाई। आरोप लगाउन सहिजो छ। गर्न गाह्रै छ।

सुजाता कोइरालालाई उपचार खर्च दिएको विषयमा निकै विवाद भयो नि ?

सुजाताले सरकारबाट उपचार खर्च नलिनु पर्दथ्यो। सुजातालाई केही कमी थिएन। लिनु हुँदैनथ्यो। तर किन लिनु भोः उहाँले ने जान्ने कुरा हो।

संविधानमा धर्म निरपेक्षता उल्लेख भैसकेको छ। तपाई हिन्दु राज्य हुनुपर्ने पक्षको अभियानमा किन सलंग्न हुनुहुन्छ ? के यो सम्भव छ ?

मैले यो सम्भव देख्या छु। म चैतबाट यसबारे आन्दोलन सुरु गर्दैछु। यति ठूलो इस्यूमा जनताको जनमत लिनु पर्ने थियो कि थिएन ? पार्टीभित्र निर्णय नगरेर जारी गरिएकोमा आफ्नै पार्टी काँगे्रसलाई पनि दोष दिन्छु। विश्वमा यहि एक मात्र हिन्दु राष्ट्र हो। मुस्लिमहरूलाई ५१ प्रतिशत हुँदा इसाई धर्म चाहिने, हामीले स्वर्गको परिकल्पना गरे भन्दा पनि राम्रो देश बनाइसकेका युरोपियन देशहरूलाई क्रिस्चियन धर्म चाहिने। कसैलाई बाइबल, कसैलाई कुरानमा हात राखेर कसम खानुपर्ने। हामीलाई चाहिँ के गर्ने ? माओवादीहरू क्रिस्चियनको एजेन्डामा गाई काटेर खानुपर्छ भनेर विशेषगरी युरोपियन युनियनहरूको पछि लागेर धर्म निरपेक्षता ल्याएको हो। त्यसैले यो सच्याउनुपर्छ। जनताको म्यान्डेट लिउँ। जनताले जे भन्छ त्यही गर्नुपर्छ।

पार्टीको लाइनमा नहुँदा नहुँदै तपाईले पार्टीको नाम जोडेर नेपाली काँगे्रस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान भनेर यही मंसिर १५ गते प्रज्ञामा ठूलो कार्यक्रम गर्दै हुनुहुन्छ। किन ?

हो, यस टपिकमा पार्टीले पास गरेको छैन। गिरिजाबाबुले गर्नु भयो। त्यो सबैले मान्ने ? उहाँ त व्यक्ति हो। पार्टीमा पास गर्नु पर्ने थिएन ?

मैले पटक पटक महासमितिको बैठक बोलाउन भनेको छुँ। त्यसमा छलफल गरेर टुंग्याउः भनेको छुँ। महासमितिमा पास भए म आफ्नो एजेन्डा छोड्दिउँला। या त पार्टी छोडुलाँ या त आफनो एजेन्डा छोडुलाँ। पशुपति शमशेर राणाले छुट्टै अडान राखे पनि राप्रपा नेपालसँग मिलेर हिन्दु राष्ट्रकै लाइनमा आइसकेका छन्। सुस्त सुस्त सबै आउँछन्। अरुबाट गाइडेड हुनेहरू आउँदैनन्।

तपाईलाई भारतको सत्तारुढ दल भाजपाबाट गाइडेड भन्ने अर्को आरोप पनि छ नि। भर्खर रामदेव आउँदा दौडिँदै दर्शन भेट गर्नु जानुभयो त ?

म हिन्दु को कुरा गरेपछि साधु सन्तलाई भेट्न जानु ठूलो कुरा भएन। ढोग्छु, आज रामेदव आए, भेंटे। भोलि रविशंकर आएपनि भेट्छु। उहाँहरूको संगतमा ज्ञान पाइन्छ, हामीलाई नैतिक उपदेश दिनुस्। हेर्नुस् यहाँको जति पनि आन्दोलन भएको छ, त्यसमा सफल बनाउन भारतको हात छ चाहे त्यो छयालीसको आन्दोलन होस्, ६२⁄६३ को आन्दोलन होस् या २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको कुरा होस्। त्यसैले भारतका नेताहरूको नैतिक समर्थन लिन जरुरी छ। फेरि उहाँहरू त बाबा योगी हुनुहुन्छ। म त रामदेवलाई महापुरुष नै भन्छु। त्यसैले भेट्न गएको।

धर्म निरपेक्षताबारे संविधान संशोधनको प्रस्तावमा यो कुरा परेको छैन त ?

क्मल थापाहरूले प्रस्ताव गरेका छन् नि। अब साँच्चिकै उहाँ हिन्दुवादी हो की मन्त्री खानलाई मात्रै प्रस्ताव अगाडि सारेको हो। त्यो त चाँडै देखिहाल्छ नि।

तपाईको धर्मपत्नी शिला खड्का पनि सांसद हुनुहुन्छ। तर देशको चिन्तनबारे उहाँको विचार त कहींकतै सुन्न पाइएन नि ?

मेरो श्रीमती मात्रै होइन, मेरो पूरै परिवार राजनीतिमा छ। उनको (श्रीमतिको) राजनीतिमा आउने इच्छा पनि थिएन। अलिकति प्रेस्टिज जस्तो भो, त्यसैको लागी राजनीतिमा ल्याएको हो। अहिलेको मन्त्रीमण्डलमा सिंचाइ मन्त्री नै दिने प्रस्ताव गरिएको थियो। तर मैले मानिनँ। उनको रुचि भए आगामी चुनावमा भाग लेलिन्, नभए घर गृहस्थी नै गर्लिन्। म त छँदैछु नि सदावहार राजनीति गर्ने।

तपाई अन्तिम समयसम्म राजनीति गर्ने भन्नुभयो। तर भ्रष्टाचारको काण्डले आधिकारिक रुपमा चुनावमा उठ्न सक्ने अवस्था त छैन नि ? कि हिन्दु राज्यकै वकालतमा राजनीतिमा रुम्मलिने हो ?

उठ्न सक्ने अवस्था किन छैन ? तपाईले हेर्नुस्। मलाई मुद्दा लाग्दा खेरी के थियो प्रावधान। त्यो अनुसार न हो। अहिलेको कानुन त मलाई लाग्दैन। मलाई चुनाव लड्न कुनै कारणले छेक्दैन। तर म एक व्यक्ति चुनाव लडे पनि नलडे पनि केही फरक पर्दैन। म त अरुलाई चुनाव लडाउने व्यक्ति हुँ। टिकट बाँड्ने व्यक्ति हुँ। विहारको लालु यादव अहिले चुनाव लडेको छ र ? तर राष्ट्रिय राजनीति त उसकै सेरोफेरोमा घुमिरेहेको छ। मेरो गृह जिल्ला दाङमा कसैले पनि भ्रष्टाचार गरेको, एक पैसा खाएको पत्याएका छैनन्। अहिले पनि म लडे भने कसैले पनि मलाई हराउन सक्दैन।

तपाई दाङको थारु समुदायकै वरिपरि हुर्किनु भयो। राज्य पुनसंरचनाको सवालमा थारुहरू उपर अन्याय भएको जस्तो लाग्दैन ?

पहिलो त यो संघीयतामा जानु नै गलत कुरा थियो। बरु यहाँ आरक्षण सम्म ठीक छ। जस्तो कि दाङमा अहिले पाँचवटा निर्वाचन क्षेत्र छ। त्यहाँ २ वटा क्षेत्र थारुहरूलाई नै आरक्षण गरिदिने हो भने किन चाहियो थरुहट⁄थारुवान क्षेत्र ? त्यस्तै दलितको लागि आरक्षण छुट्याइदिउँ। त्यस्तै महिला, पिछडा वर्ग, अल्पसंख्यक आदिलाई आरक्षण दिएर ल्याउने उपाय गर्नुपर्छ। तर यी सब छोडेर हामी संघीयतामा गयौँ। थारु त कञ्चनपुरदेखि झापासम्म छ, कुन क्षेत्रलाई थरुहट मान्ने ? सबैभन्दा सजिलो त पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाइदिएको भए हुन्थ्यो। आखिर परिवारझैँ मिलिसकेका थिए। अहिलेको संरचनाले त पश्चिमा मुलुकहरूको रुचिमा छिमेकी चीनलाई घेर्नलाई जस्तो आयो। यस्तो प्रदेश संरचनाले पछि भारतलाई पनि टाउको दुखाइ हुन्छ।

अर्को बुरा मधेस मधेस मात्रै किन पद्रेश चाहियो ? पहिले दुइटा भन्थे, अहिले ३ वटा चाहियो रे। संघीयता नै चाहेको भए, उत्तर दक्षिण प्रदेश गर्दा के बिग्रिन्छ ?

एमालेले यो कुरा उठाइराखेको छ। पहाडी क्षेत्रमा उसलाई आगामी चुनावमा प्लस प्वाइन्ट हुन्छ। कैलाली, कञ्चनपुरको समस्या आयोगबाट समाधान गर्ने भन्ने सुनिएको छ। त्यो आयोग कस्तो हुने हो। संविधान कतिपल्ट संशोधन गर्नु पर्ने हो ? अहिलेको संशोधित संविधानले निकास देला जस्तो लाग्दैन मलाई। यसले झन समस्या बल्झाउँछ।

चुनावको दिन नजिकिँदै छ। तर सरकारबाट कुनै गृहकार्य देखिँदैन यसबारे के भन्नुहुन्छ ?

सबैलाई मध्यनजर गर्दे तीन तहको चुनाव सँगै पनि गर्न सकिन्छ नि। तर बजेट नै कार्यान्वयन भएको छैन। चुनाव भयो भने प्रदेशका विधान सभा सदस्य कहाँ बसेर काम गर्ने हुन् ? कि भत्ता मात्रै खाइरहने हुन् ?

मुलुकको समग्र निकास अब के देख्नु हुन्छ त ?

तीनवटा कुरामा जनमत संग्रह गर्नुपर्छ। पहिलो सनातन हिन्दु राष्ट्र कायमबारे, दोश्रो संघीयताबारे तथा तेश्रो राजसंस्थाको विषयमा। राजा देशको जुन कुनामा गए पनि उनको वरिपरि मान्छेको ओइरो लागेको छ। यी तिन चीजमा स्थायित्व नहुँदा सम्म देशमा शान्ति हुन्न। शान्ति नभए विकास हून्न। हामी सधैँ खातेको खाते रहनेछौँ।

LEAVE A REPLY