“सौर्य ऊर्जा गतिलो ब्याक अप”



नेपाल समाचारपत्र
काठमाडौं

काठमाडौं सहित मुलुकलाई लोड सेडिङ मुक्त बनाउने अभियान अघि बढाएको सरकारका लागि सौर्य उर्जा गतिलो ‘व्याक अप’ स्रोत बन्न सक्ने भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन्। खासगरी औद्योगिक क्षेत्रहरुको लागि सौर्य उर्जा उत्तम विकल्प भएको यस क्षेत्रका जानकारहरुको तर्क छ।

सौर्य प्लान्ट मार्फत उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने वातावरण बनाइनुपर्ने नेपाल सौर्य विद्युत उत्पादक संघको बार्षिक साधारण सभाका वक्ताहरुले बताए। हरेक सरकारले प्रचारमुखी नाराका रुपमा सौर्य उर्जालाई चर्चामा ल्याउने गरेपनि राष्ट्रिय ग्रीडमा जोड्ने कुरा कार्यान्वयनमा आउन सकेको छैन। कार्यक्रमका प्रमुख अतिथि जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले सौर्य उर्जा प्रवद्र्धनको नीतिमा रहेका अवरोधलाई हटाउन तत्पर रहेको बताउनुभयो।

पछिल्लो तथ्यांक अनुसार ग्रामिणदेखि सहरी क्षेत्रका करिव ७ लाख घरधुरीमा सौर्य उर्जा जडान भएको र त्यसबाट ४० मेगावाटका हाराहारीमा सौर्य उर्जा उत्पादन भइरहेको नेपाल सौर्य विद्युत उत्पादक संघको अनुमान छ। सौर्य उर्जालाई बैकल्पिक माध्यमको रुपमा अघि बढाउन २०५३मा बैकिल्पक उर्जा प्रवद्र्धन केन्द्र स्थापना भएको थियो। काठमाडौं, विराटनगर र पोखराको नगर क्षेत्रका घरका कौशीमा जडान गरिने सौर्य उर्जाको क्षमता ८ सय ४० मेगावाटको हाराहारीमा हुन सक्ने केन्द्रको पछिल्लो अध्ययनले देखाएको छ। तर मुलुकमा अहिले सम्म ठूलो प्रकृतिको सौर्य प्लान्ट स्थापना हुन सकेको छैन। जापान सरकारको सहयोगमा ललितपुरको सुन्दरीघाटमा निर्माण भएको ८ सय ४० किलोवाट क्षमताको सौर्य प्लान्ट नै नेपालका लागि अहिले सम्मको ठूलो सौर्य परियोजना हो।

पछिल्लो सयममा सरकारी र नीति क्षेत्रले सौर्य उर्जालाई प्राथमिकता दिएपनि ठूला परियोजना कागजमा सीमित रहेको सौर्य विद्युत उत्पादक संघका बरिष्ठ उपाध्यक्ष इन्द्र खनाल बताउनुहुन्छ। ‘बैकल्पिक उर्जाको रुपमा सौर्य उर्जालाई सबैले स्वीकारेको अवस्था छ, तर बनेका नीति कार्यान्वयन हुन नसक्दा ठूला परियोजना अघि बढ्न सकेका छैनन्’–उहाँले भन्नुभयो। ‘धेरै परियोजना साना स्केलका छन्, खनालले भन्नुभयो–‘महाराजगञ्ज स्थित टीचिङ अस्पताल परिसरमा हालै १ सय १५ किलोवाट क्षमताको परियोजना सम्पन्न भएको र अख्तियार मुख्यालय टंगालमा ५ सय किलोवाट क्षमताको प्लान्ट निर्माणाधिन अवस्थामा छ।’

सौर्य विद्युत उत्पादक संघमा विभिन्न १ सय ५ वटा कम्पनी आवद्ध छन्। शनिवारको सभाले महासचिव कृष्ण प्रसाद पराजुली तथा कोषाध्यक्ष गोविन्द सुवेदीले प्रस्तुत गर्नु भएको बार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्