हस्तकला मेलामा दर्शकको ओहिरो



नेपाल समाचारपत्र
काठमाडौं

राजधानीको भृकुटीमण्डपमा जारी १४ औं हस्तकला व्यापार मेला एवं १४ औं हस्तकला प्रतियोगिताको आज दोस्रोदिन शनिवार करिब ५० हजार दर्शकले मेला अवलोकन गरेका छन्। मेलामा प्रत्यक्ष⁄अप्रत्यक्ष २ करोड बराबरको आर्थिक कारोबार भएको छ।

मेलामा ७ वटा पेभिलियन सहित कूल १ सय ७८ वटा स्टल रहेका छन्। सार्क मुलुकहरु बंगलादेश, पाकिस्तान, चीनको तिव्वत र भुटानका व्यवसायीका समेत स्टल छन्। प्रत्यक्ष⁄अप्रत्यक्ष छिमेकी मुलुक चीन, इरान, संयुक्त अरब इमिरेट्स (यूएई)का व्यवसायीहरुको समेत संलग्नता रहेको नेपाल हस्तकला महासंघले जनाएको छ।

मेलामा स्वदेश तर्फका विभिन्न ४० जिल्लाको प्रतिनिधित्व रहेको नेपाल हस्तकला महासंघले जनाएको छ। मेलामा नेपाली काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी, सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया जस्ता वस्तु प्रर्दशनी तथा विक्रीमा छन्। मंगलबार समापन हुने महोत्सवमा १० करोड भन्दा बढिको कारोवार हुने आयोजकको अपेक्षा छ।

मेलामा हिमाल, पहाड र तराई क्षेत्रका साँस्कृतिक झलकसँगै उपत्यकाको नेवारी संस्कृति र ती क्षेत्रका मौलिक परिकार समेत प्रर्दशन भइरहेको छ। सोही बमोजिम शनिवार शेर्पा साँस्कृतिक पहिचान झल्किने स्याब्रु, याक नृत्य प्रस्तुत गरिएको थियो। आज आइतबार नेवारी संस्कृति झल्काउने साँस्कृतिक प्रस्तुती रहने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्