जनजाति समूहद्वारा सैनिक र प्रहरी चौकीमा हमला



यांगुन, (एजेन्सी) चारवटा सशस्त्र जनजाति समूहले म्यान्मारको उत्तर भागमा रहेको सुरक्षा फौजमाथि आक्रमण गर्दा आठ महिने सरकारलाई ठूलो धक्का पुगको छ। यस घटनबाट अल्पमत जनजाति समूहसँग शान्ति सहमतिमा पुग्ने प्रजातन्त्रवादी नेतृ आंग सान सुकीको प्रमुख लक्ष्यमाथि प्रहार भएको सरकारी सञ्चारमाध्यमले सोमबार जनाएका छन्।

उत्तरी लडाकूहरूको गठबन्धनले चीनको सिमाक्षेत्रको मयान्मारस्थित एउटा महत्त्वपूर्ण व्यापारिक क्षेत्रनजिकको एक व्यापार केन्द्र र सैनिक तथा प्रहरी चौकीहरूमा आइतबार आक्रमण गर्दा कम्तीमा आठ व्यक्तिको ज्यान जानुका साथै अन्य उनान्तीस जना घाइते भएको सरकारले जनाएको छ।

म्यान्मारको उत्तरपूर्वी सान राज्यका मुसे र कुत्काइ शहरमा भएका भिडन्तबाट बच्ने उद्देश्यले केही मानिसले सिमा पार गरेको खबर प्राप्त भएकाले चीनले त्यहाँ तैनाथ आफ्ना सेनालाई उच्च सर्तक अवस्थामा राखेको छ। बेइजिङले म्यान्मार घटनामा संलग्न सम्बन्धित पक्षहरूलाई शान्त रहन आग्रह गरेको छ।

सरकारले म्यान्मारको उत्तर पश्चिमी राखिनेको एउटा द्वन्द्वलाई नियन्त्रण गर्न खोजिरहेका बेला यो आक्रमण भएको हो। बौद्ध भिक्षुहरूका आक्रमणको कारण राखिनेबाट सयौं रोहिंग्या मुस्लिम बंगलादेशतर्फ भागिसकेका छन्। यस पछिल्लो आक्रमणको कारण गत वर्ष राष्ट्रिय मेलमिलापको प्रतिबद्धता जनाउँदै सत्तामा पुगेकी शान्तिका लागि नोबल पुरस्कार विजयी सुकीलाई आपत् परेको छ।

यसैबीच आइतबार साँझ म्यान्मारको सबैभन्दा ठूलो शहर यांगुनस्थित एउटा सुपरमार्केटमा तीनवटा बम विस्फोट भएको छ। तर यस घटनामा कुनै मानवीय क्षति नभएको सूचना मन्त्रालयले जनाएको छ। गत महिना माउन्गदस्थित सिमा चौकीमा भएको आक्रमणमा नौ जना प्रहरी अधिकारी मारिएपछि त्यहँँ बृहत् सुरक्षा कारबाही परिचालन गरिएको थियो। केही सरकारी अधिकारीहरूले सो आक्रमणका लागि रोहिंग्या समूहलाई दोष दिएका थिए।

रोहिंग्या अभियन्ताहरूले सो कारबाहीमा १ सय जनाभन्दा बढी मारिएको र अन्य सयौंलाई पक्राउ गरिएको बताएका छन्। सेनामाथि यातना, बलात्कार र मृत्युदण्डको आरोपसहित थुप्रै मानवाधिकार हनन गरेको अभियोग लगाइएको थियो। तर सरकारले सो आरोप ठाडै अस्वीकार गरेको थियो। जुन्ता सरकारको संविधानको कारण राष्ट्रपति बन्न नसके पनि सुकी त्यहाँको वर्तमान सरकारको हर्ताकर्ता नै हुन्।

प्रतिक्रिया दिनुहोस्