ज्योतिसँगै सीताराम–कुञ्जना दोलखामा



दोलखा, (नेस)। धुर्मुस–सुन्तली फाउन्डेसनको टोली बालमैत्री स्थानीय शासन अभियान लिएर दोलखा सदरमुकाम चरिकोट आइपुगेको छ।

टोलीमा सहभागी धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक हास्य अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिर ‘सुन्तली’ ले बालबालिकालाई सक्षम, शिक्षित र संस्कारी बनाउँदै समृद्ध राष्ट्र निर्माणका लागि बालमैत्री स्थानीय शासन अभियान शुरू गरिएको बताए। स्थानीय विकास मन्त्रालयको समन्वय तथा सम्बन्धित जिल्लाको जिल्ला विकास समितिको सहयोगमा शुरू गरिएको अभियानको क्रममा बालमैत्री फिल्म ज्योतिको प्रदर्शनसमेत गरिने सीतारामले बताए।

ज्योतिमा देश निर्माणको शिक्षा दिइएको उल्लेख गर्दै फिल्म हेरेपछि राजनीतिज्ञ, समाजसेवी, कर्मचारी सबैको भूमिकाको विषयमा बालबालिकाले स्पष्ट ज्ञान हासिल गर्दै भविष्य निर्माण कसरी सम्भव हुन्छ भन्ने कुरामा सचेत हुने कट्टेलले दाबी गरे। अहिलेसम्म नेपालको सुनौल नगरपालिका र विराटनगर उप–महानगरपालिका बालमैत्री नगर घोषणा भइसकेको उल्लेख गर्दै सीताराम र कुञ्जनाले गाउँ, नगर, जिल्ला हुँदै देशलाई बालमैत्री मुलुक बनाउने बताए। देशलाई बालमैत्री बनाउन हरेक ठाउँमा खानेपानी, विद्यालय, सडक, शौचालय जस्ता कुरा बालमैत्री ढङ्गले निर्माण गरिने, सचेतनामूलक अभियान सञ्चालन गर्नेलगायतका काम भइरहेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले आइतबार साँझ दोलखा सदरमुकाम चरिकोटमा ज्योतिको प्रदर्शन गरेको थियो। यसअघि रामेछापको सदरमुकाम मन्थली र खिम्ती बजारमा शनिबार ज्योति प्रदर्शन गरिएको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्