दुई राप्रपा मिले अब संसद्मा ३७ जना एक ढिक्का



नेपाल समाचारपत्र
काठमाडौं

राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दूराष्ट्र निर्माण गर्ने मूल लक्ष्यका साथ कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृत भएका छन्।

दुईपार्टी एकीकृत भएपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ भने झण्डा राप्रपा नेपालको कायम गरिएको छ। सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको घोषणासभामा जानकारी दिइएअनुसार पार्टीको कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा भएका छन्।

एकीकरणपछि संसद्मा राप्रपाका ३७ जना सांसद भएका छन्। संसद्मा राप्रपा नेपालका २५ र राप्रपाका १२ सांसद छन्। संसदीय दलको नेतृत्व अध्यक्ष थापाले गर्ने भएका छन्। पार्टी एकीकरणपछि दुवै पार्टीका आधाआधा गरेर ३ सय सदस्यीय केन्द्रीय कार्यसमिति बनाइएको छ।

पार्टी एकताको घोषणा गर्दै नेताहरूले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने बताएका छन्। यो एकताले वैकल्पिक मार्गचित्रका साथ एउटा प्रजातान्त्रिक शक्ति खडा भएको भन्दै पार्टी एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष थापाले भन्नुभयो– ‘आरोह अवरोहका क्रममा केही ओझेलमा परेको भए पनि अब नयाँ शक्तिको उदय भएको छ र जनतामा राप्रपाप्रति भरोसा जागेको छ।’ मुलुकले भरोसा गर्न सक्ने, दूरगामी सोचाइ र अनुभव बोकेको पंक्ति पार्टीमा रहेको भन्दै उहाँले अबको निर्वाचनपछि पार्टी पहिलो राजनीतिक शक्तिको रूपमा उदय हुने दाबी गर्नुभएको थियो।

कार्यक्रममा नेपाल धर्म निरपेक्ष देश हुन नसक्ने भन्दै राष्ट्रिय अध्यक्ष राणाले हिन्दूराष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको थियो। एकीकरणपछि पार्टीका नेताहरू पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनी वरिष्ठ नेता बनेका छन्।

पूर्वसहमतिअनुसार एकीकृत पार्टीको महाधिवेशन माघ महिनाभित्रै गरिनेछ। एकीकरणसम्बन्धी नीति तथा आधारपत्रअनुरूप तयार पारिएको राप्रपाको अन्तरिम विधान २०७३ आउँदो केन्द्रीय महाधिवेशनबाट नयाँ विधान तयार नभएसम्म कायम रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्