५५ किलो सुनको प्रयोग



नेपाल समाचारपत्र
काठमाडौं

लिच्छवीकालमा निर्मित बौद्धस्थित बौद्धनाथ स्तुप (महाचैत्य) को जीर्णोद्वार सम्पन्न भएको छ। जीर्णोद्वारपश्चात् सार्वजनिकरूपमा भक्तजनहरूका लागि नित्यकर्म र पूजा–अर्चना गर्नका लागि शुद्धीकरण पूजा र सुप्रतिष्ठा पूजा आइतबार सम्पन्न भएको छ।

२०७२ सालको विनाशकाारी भूकम्पले बौद्धनाथ स्तुपको शीर क्षतिग्रस्त भएपछि जीर्णोद्वार गरिएको हो। नेपाल सरकारको सहयोगबिना अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बीहरूको आर्थिक सहयोग र परमपुज्य धर्मगुरु भूपति बज्र लामा (अवतारी धर्मगुरु) को आह्वानमा अनुदान सहयोग प्राप्त भई जीर्णोद्वार सम्पन्न भएको बौद्ध ध्याङ गुठिका सचिव पाल्देन लामाले जानकारी दिनुभएको छ। जीर्णोद्वारको क्रममा सुन र नगद गरी करिब ४० करोड रुपियाँ खर्च भएको उहाँले जानकारी गराउनुभएको छ।

विभिन्न सप्रदायका धर्म गुरुहरू र बुद्धिस्ट अनुयायीहरूबाट प्राप्त करिब ३० किलो सुन र मौजुदा २५ किलो सुनसमेत गरी ५५ किलो सुन स्तुपभन्दा माथिको सम्पूर्ण भागमा प्रयोग गरिएको छ। भूकम्प गएलगत्तै जीर्णोद्वार कार्य प्रारम्भ भएको थियो। जीर्णोद्वार कार्य सम्पन्न भएलगत्तै पूजा विधि शुरु गरिएको थियो। शुक्रबारदेखि शुरु भएको पूजा आइतबार सम्पन्न भएको हो।

वैद्धिक भनाइअनुसार बौद्धनाथ स्तुपको क्षति पश्चात् भगवान्को प्राणआत्मा आफ्नो स्थान छोडी अन्यन्त्र बाटो लागिको हुँदा जीर्णोद्वारपश्चात् पुनः साविक स्थानमा प्राणलाई फर्काउन शुद्धीकरण पूजा आयोजना गर्नुपूर्व बौद्धनाथ स्तुपमा रहेको चारवटै ढोका खोल्न वैदिक रीतबाट आह्वान गरिएको थियो। चारवटै ढोका खोल्न परमपुज्य गुरु भूपति बज्र लामाले वैदिक परम्पराअनुसार सो कार्य गर्नुभएको थियो।

सुप्रतिष्ठान र शुद्धीकरण पूजाको पहिलो दिन शुद्धीकरण पूजाको प्रारम्भ गरी दोस्रो दिन बौद्धनाथ स्तुपको जीर्णोद्वारका क्रममा भगवान्को आत्मालाई मेलुङ ऐनामा राखेको प्राणलाई पुनः बुद्धिस्ट र तान्त्रिक विधिबाट पूजा गरि गुरु चिनिया लामाबाट बोद्धस्तुपमा नै भगवान्को प्राण भित्राइएको थियो। तेस्रो दिन अर्थात् आइतबार भगवान् बुद्धका शान्तिका दुई आँखा (नयन) परमपुज्य गुरुबाट अनावरण गरी तीनदिने पूजाअर्चना सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्