भोजपुर बजारमा भीषण आगलागी



भोजपुर, (नेस)

भोजपुरको सदरमुकाम भोजपुर बजारमा आइतबार अपरान्हबाट शुरु भएको आगलागीबाट ८ घर जलेर ध्वस्त भएका छन्। सदरमुकामको बीचमा रहेको छिरबहादुर पोर्तेलको घरबाट शुरु भएको आगोले ८ वटा घरलाई ध्वस्त बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी सहायक निरीक्षक दिपेन्द्र गौतमले जानकारी दिनुभयो।

आगलागीको घटना भएको थाहा पाउनासाथ स्थानीय सुरक्षा निकाय र स्थानीय जनताको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट ४ घरमा आंशिक क्षति पुगेको थियो।राति अबेरसम्म पनि त्यहाँको वातावरण आतंकित बन्न पुगेको छ। अहिले घरबारविहीन भएका जनतालाई अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्