शेयरमा पहिरो



कमला अर्याल, काठमाडौं

लगातारको शेयर कारोबारको गिरावटका कारण यति बेला शेयर बजारको लगानी जोखिमपूर्ण बन्दै गइरहेको छ। शेयर बजारमा आइतबार पनि कारोबारको डेढ घण्टामै बजार सर्किट ब्रेक लागेर आधा घण्टाका लागि बन्द भएको बजार फेरि खुलेको थियो। तर, बजार ओरालो लाग्ने क्रम भने रोकिएन। नेप्सेमा ४ दशमलव १ प्रतिशत अर्थात् ६६ दशमलव ४३ अंकको गिरावट आएपछि आधा घण्टाका लागि बन्द भएको थियो।

यति बेला शेयरको खरिदमा भन्दा बिक्रीमा अधिक चाप परेका कारण नेप्से तीव्र रूपमा ओरालो लाग्दा शेयरका लगानीकर्ता मारमा परेका छन् भने भर्खर शेयर बजारमा भित्रिएका नयाँ लगानीकर्तालाई पनि निकै जोखिमको अवस्था सृजना हुन थालेको छ। पछिल्लो समय बजारमा आएको तरलताको कमीका कारण बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएकाले पनि शेयर बजारमा हलचल आएको छ।

त्यस्तै, भारतले भारु ५ सय र १ हजारको नोटमा लगाएको प्रतिबन्धसँगै नेपालमा पनि यसले विभिन्न क्षेत्रमा असर पारेको छ। शेयर बजारमा यसरी लगातारको गिरावटले अब कुन रूप लिने हो, सम्बन्धित निकायसँग पनि यसको जवाफ छैन। यस विषयमा आन्तरिक र बाह्य रूपमा व्यापक छलफल भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘हामी आन्तरिक रूपमा र बाह्य विज्ञहरूसँग छलफलमा छौं।’ बजारको लगातारको गिरावटले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको महाप्रबन्धक थपलियाको भनाइ छ।

शेयर बजारका संस्थागत र केही ठूला लगानीकर्ता बजार अरू घट्छ भन्ने विश्लेषण गर्दै कुरिरहेका छन् भने कतिपय लगानीकर्ता बाहिरिएको अवस्था छ। एभरेस्ट बैंक र नेसनल लाइफको बोनस र हकप्रद घोषणाका बेला धेरै शेयर किनबेचको कारोबार गरेका ठूला लगानीकर्ता केही मात्रामा ती शेयरको कारोबारमा अहिले पनि सक्रिय छन्। कारोबार रकममा शिखर, एभरेस्ट तथा नेसनल लाइफको अग्रताले यसै कुरालाई प्रमाणित गर्छ।

शेयर बजारमा केही महिना यताको सबैभन्दा ठूलो गिरावट आएपछि नेप्से १५९१ दशमलव ६५ मा ओर्लिएर सर्किट लागेकोमा कारोबार फेरि खुलेको पाँच मिनेटमै ७० अंकले बजारमा गिरावट आएको थियो। अघिल्लो साताको अन्तिम दिनको कारोबारमा ४१ अंकको गिरावट आएको शेयर बजारले यस साताको पहिलो दिनको कारोबारमा पहिलो एक घण्टामै नेप्सेमा ४४ अंक क्षति बेहोर्नुपरेको थियो।

सबै राम्रा कम्पनीहरूको सेयर मूल्य डरलाग्दो गरी घटेको छ भने केही साना कम्पनीको शेयर मूल्य मात्र बढेको छ। शेयर बजारको यस्तो विकराल स्थितिका कारण बजार अझै बिकराल बन्दै गइरहेको छ। जानेर होस् या नजानेर शेयरमा लगानी गर्ने नयाँ लगानीकर्ताहरू मारमा परेको शेयरका जानकारहरू बताउँछन्।

बजारलाई आधार प्रदान गर्ने नीतिगत निर्णयहरू आउन सकेका छैनन्। बजारमा अन्यौल बढाउने तथा बजारलाई अझै अव्यवस्थित हुने खालका गतिविधिहरू बढ्दै गएकाले शेयर बजार झनै धरासायी बन्दै गएको छ। शेयर बजारमा शेयर किन्ने भन्दा बेच्नेको चाप बढी भएकाले बजारको सन्तुलन बिग्रिएको छ। जसका कारण लगानीकर्ताहरूले अर्बाै रुपिँया घाटा बेहोर्नुपरेको छ भने नयाँ लगानीकर्ताहरूका लागि शेयर बजार थप चुनौतिपूर्ण बनेको छ।

तर केही समय बजारमा गिरावट आउँदैमा आत्तिइहाल्नु नपर्ने शेयरका जानकारहरूको कथन छ। अनलाइन सेक्युरिटीका सञ्चालक अनन्त पौडेलले नेपाल समाचारपत्रसँग कुरा गर्दे भन्नुभयो– ‘बजारमा केही दिन गिरावट आउँदैमा खत्तमै भयो भन्ने कुरा गलत हो।’ यतिबेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर शेयरमा लगानी गर्नेहरू बढी मारमा परेको सञ्चालक पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्