मलेसियाली प्रधानमन्त्रीको राजीनामा माग्दै विशाल प्रर्दशन



क्वालालम्पुर,(एजेन्सी) मलेसियाका प्रधानमन्त्री नाजिव राजाकको राजीनामा माग गर्न शनिबार हजारौं पहेंलो कमिज लगाएका मलेसियाली प्रदर्शनकारी राजधानी क्वालालम्पुरमा जम्मा भएका छन्। ती प्रदर्शनकारीहरुले नाजिवले सरकारी लगानी कोष १ एमडीबीबाट अर्बौं रुपियाँ लुटेको आरोप लगाएका छन्।

ती प्रदर्शनकारीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै थुप्रै संख्यामा प्रदर्शनकारी गिरफ्तार गरेको छ। तर आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका नाजिवले यस्तो विरोध प्रदर्शनले आफू नडराउने बताएका छन्। आफ्नो ब्लगमार्फत उनले यो प्रदर्शन आयोजना गर्ने बेर्सिह नामक चुनाव सुधारक समूहलाई बेइमानको संज्ञा दिएका छन्।

उनले यस समूहले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकारलाई अपदस्थ गर्न विपक्षी राजनीतिक पार्टीहरुको हतियारको भूमिका निभाइरहेको आरोप पनि लगाएका छन्।तर नाजिवको आरोप अस्वीकार गर्दै बेर्सिहका उपाध्यक्ष शाहरुल अमान सारीले राष्ट्रिय मस्जिदमा जम्मा भएका भिडलाई भनेका छन् , ‘हामी यहाँ राष्ट्रलाई लडाउन यहाँ जम्मा भएका हैनौं। हामी यो मुलुकलाई माया गर्छौं। हामी यहँँ सरकार ढाल्न हैन त्यसलाई सुदृढ बनाउन जम्मा भएका हौं।’

पन्ध्रै महिनाभित्र नाजिवको राजीनामा माग गर्दै बेर्सिहले आयोजना गरेको यो दोस्रो विरोध र्याली हो। सरकार विरोधी पहेंलो कमिजधारी र सरकार समर्थित प्रदर्शनकारी रातो कमिजधारीबीच विगत केही सातादेखि तनाव चलिरहेको हो। हिजोको प्रर्दशनको क्रममा प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको सम्बन्धमा अन्तर्राष्ट्रिय मानव अधिकार समूह एमनेस्टिले विरोध जनाइसकेको छ। यस प्रदर्शनको प्रतिकार गर्न केही रातो कमिजधारीहरुपन त्यहँँ जम्मा भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्