Falling price for gold concept isolated on white background

नेपाल समाचारपत्र
काठमाडौं
मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक स्थितिमा यो कुरा उल्लेख गरिएको हो।

गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशत रहेकोमा असोज महिनामा ६ दशमलव ७ प्रतिशतमा ओर्लेको छ। असारमा यस्तो मुद्रास्फीति १० दशमलव ४ प्रतिशत र असोजमा ८ दशमलव २ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकाले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको हो।

त्यस्तै समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ५ दशमलव ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९ दशमलव ७ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ, अण्डा, मासु तथा माछालगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले खाद्य मुद्रास्फीति कम रहन गएको नेपाल राष्ट्र बैंकले जनाएकको छ। समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७ दशमलव ८ प्रतिशत र मदिराजन्य पेयपदार्थको मूल्य १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी गैरखाद्य मुद्रास्फीति ७ दशमलव ६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७ दशमलव १ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११ दशमलव २ प्रतिशतले, शिक्षातर्फको ९ दशमलव ६ प्रतिशतले, घरभाडातर्फ ९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति पहाडमा ८ दशमलव ९ प्रतिशत, हिमालमा ६ दशमलव ३ प्रतिशत, तराईमा ६ दशमलव २ प्रतिशत र काठमाडौं उपत्यकामा ५ दशमलव ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ८ दशमलव ५ प्रतिशत, हिमालमा ६ दशमलव ९ प्रतिशत, तराईमा ७ दशमलव ५ प्रतिशत र काठमाडौं उपत्यकामा ९दशमलव १ प्रतिशत रहेको थियो।

उता असोज महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेको छ भने नेपालको मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २ दशमलव ५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८ दशमलव २ प्रतिशत र ५ प्रतिशत रहेकाले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३ दशमलव २ प्रतिशत रहेको थियो। नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर क्रमिक रूपमा घट्दै आएको भए तापनि नेपालमा लत्ताकपडा तथा जुत्ता, मदिराजन्य पदार्थलगायतका वस्तुको मूल्यवृद्धि तुलनात्मक रूपले उच्च रहेकाले मुद्रास्फीति अन्तर अझै उच्च नै रहेको हो।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलव ९ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक ७ दशमलव २ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकांक ५ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरूको मूल्य सूचकांक १ दशमलव १ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक १० दशमलव ५ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकांक ५ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो। आयातित वस्तुहरूको मूल्य सूचकांक ३ दशमलव ९ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा तलब सूचकांकमा १८ दशमलव ५ प्रतिशत र ज्यालादर सूचकांकमा १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकाले ज्यालादर सूचकांकभन्दा तलब सूचकांकमा उच्च वृद्धि भएको हो।

तलबअन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उपसमूहहरूको तलब सूचकांक क्रमशः २४ दशमलव २ प्रतिशत, २३ दशमलव ६ प्रतिशत र २० दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै ज्यालादरअन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकांक क्रमशः १५ दशमलव ७ प्रतिशत, १३ दशमलव ५ प्रतिशत र १२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ।

LEAVE A REPLY