अस्ट्रेलियाली बैंक परिसरमा आत्मदाह



सिडनी, (एजेन्सी) अस्ट्रेलियाको मेलवर्नस्थित एउटा बैंकमा शुक्रबार एकजना व्यक्तिले आत्मदाह गर्दा कम्तिमा अन्य २६ जना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। आगोले जलेर र धुवाँमा निस्सासिएर घाइते हुनेमध्ये ६ जनाको स्थित चिन्ताजनक रहेको अस्पताल सूत्रले जनाएको छ। ती आत्मदाह गर्न खोज्ने व्यक्ति विगत तीन वर्षदेखि अस्ट्रेलियामा शरण लिन प्रयासरत नुर नामक म्यान्मारका नागरिक भएको शनिबार प्रहरीले पत्ता लगाएको छ।

घाइते हुनेमा बालबालिकादेखि लिएर ८० वर्षीय वृद्ध पनि रहेका छन्। प्रहरीले स्प्रिंगभेल उपनगरमा रहेको कमनवेल्थ बैंकमा पुगेका ती व्यक्तिले अचानक आफ्नो शरीरमा ज्वलनशील पदार्थ छर्केर आगो लगाएको बताएको छ। घाइते अवस्थामा अस्पताल पुर्याइएका उनको प्रहरीको कडा निगरानीमा उपचार भइरहेको छ।

भिक्टोरिया प्रहरी कार्यालयका निमित्त प्रहरी निरीक्षक ज्याकी पोइडाले २१ वर्षीय ती आशंकित व्यक्ति नुरले तरल रसायनिक पदार्थ शरीरमा छरेर आगो लगाएको र सिकिस्त घाइते हुनेहरुमध्ये पनि कोही उनका मतियार हुनसक्ने बताएका छन्। ती व्यक्तिको उद्देश्य थाहा हुन सकेको छैन। उनी सन् २०१३ मा एउटा डुंगामा बसेर एक्लै अस्ट्रेलिया छिरेको अनुसन्धानबाट खुलेको छ।

प्रत्यक्षदर्शीहरुले खिचेको सो घटनाको दृश्य अस्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेसनले प्रशारण गरेको थियो। प्रत्यक्षदर्शीमध्ये एकजनाले नजिकैको एउटा पसलबाट तत्काल आगो निभाउने उपकरण ल्याएर आगो निभाउन मद्दत गरेका थिए।

शरणार्थीएको आधिकारिक दर्जा लिने कोसिसमा रहेका नुरले अस्ट्रेलियाली सरकारले दिने साप्ताहिक भत्ताले म्यान्मारस्थित आफ्नो परिवारसमेत पाल्दै आएको बुझिएको छ। उनका साथीहरुले लामो समयसम्म शरणार्थी भिसा नपाएका कारण उनले मानसिक सन्तुलन गुमाएको बताएका छन्।

अस्ट्रेलियाका निमित्त प्रधामन्त्री बार्नाबी जायसले हिजो नुरको शरणार्थी दावीबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्