अदालतद्वारा शव सुरक्षित राख्न अनुमति



लन्डन, (एजेन्सी) मृत्युपछि आफ्नो शव सुरक्षित राखियोस् भनी अदालतसमक्ष एक १४ वर्षीया किशोरीले गरेको अनुरोध पूरा भएको छ। सिकिस्त बिरामी ती किशोरीले सम्भवत भविष्यमा आफ्नो उपचार हुनसक्ने आशामा आफ्नो शवलाई सुरक्षित राख्न पाऊँ भनी मृत्युको केही समयअघि अदालतसमक्ष याचिकापत्र दायर गरेकी थिइन्।
अनौठो प्रकारको क्यान्सरबाट ग्रस्त ती किशोरीको इच्छालाई उनकी आमाले समर्थन गरे पनि उनका पिताले भने असहमति जनाएका थिए।

उनले आफू लामो समयसम्म बाँच्न चाहेकाले आफूलाई जमिनमुनि नगाडियोस् भन्ने व्यहोरासहित न्यायाधीशलाई पत्र लेखेकी थिइन्। गत अक्टाबरमा मरेकी ती किशोरीको शव सुरक्षित राख्नका लागि अमेरिकामा लगिएको थियो।

बेलायतको राजधानी लन्डनमा बस्दै आएकी उनको नाम खुलाइएको छैन। लन्डनको एक उच्च अदालतले ती आमालाई आफ्नी छोरीको अन्तिम इच्छा पूरा गर्न दिने निर्णय गरेको थियो। न्यायाधीश पिटर ज्याक्सनले उनलाई अस्पतालमै गएर भेटेका थिए।
२६ सेप्टेम्बरमा अदालतमा दायर गरिएको उक्त याचिकापत्रमाथि ६ अक्टोबरमा निर्णय भएको थियो। उनको शव सुरक्षित राख्न लाग्ने ३७ हजार पाउन्ड उनकी आमाले दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्