औद्योगिक विकासका समस्या र समाधान



(रमेशकेशरी वैद्य ) अहिले मुलुकको ठूलो समस्या हो देशमा उद्योगको विकासको कमी, कारण लोकतन्त्र आएको यत्रो समय हुँदा पनि राजनीतिक अस्थिरताका कारण देशमा उद्योग व्यापारको विकास हुन पाइराखेका छैन। फलस्वरूप प्रायः यहाँका युवापुस्ताहरू विदेशिन बाध्य भइराखेका छन्। युवापुस्ताको विदेशिने क्रमले रेमिट्यान्सको कमी छैन यहाँ तर हरसमय नेपालीहरू विदेशीको नोकर भएर बस्ने हो भने यहाँ लोकतन्त्र आएको के औचित्य भयो त ? यस कारणले हामीले आफ्नै मुलुकमा उद्योगको विकास गरेर, बेरोजगारलाई रोजगार सृजना गरेर युवाहरूलाई यसतर्फ आकर्षित गर्नुपर्दछ। अनि मात्र देशको विकास हुनुका साथै रोजगारी समस्या हल हुनेछ।

देशमा उद्योग व्यवसायको विकासका लागि सर्वप्रथम सरकारले उद्योग व्यवसायीहरूसँग छलफल गरी समय–समयमा यिनीहरूबाट परामर्श लिनु आवश्यक छ, अनि मात्र उद्योग व्यवसाय विकासको हल निस्कनेछ। यति मात्र होइन, सरकारले उद्योगी व्यवसायीहरूलाई सहुलियत र सुरक्षा दिने दृढसंकल्प गरे मात्र उद्योग व्यवसायीहरू यो क्षेत्रमा आउन तातिनेछन्। अन्यथा, लगानीकर्ताहरू यो क्षेत्रमा आउन हरेस खानु स्वाभाविक हो। अहिले देशमा भइराखेको मुख्य समस्याको कारण सरकारले यिनीहरूलाई प्रोत्साहन दिन नसक्नु नै हो।

एउटा विडम्बना के छ भने, उद्योगी व्यवसायीहरूले काम थाल्नुअघि नै अनेक प्रशासनिक झमेला बेहोर्नु र कर सहुलियत नपाउनु हो। यदि सरकारले हाम्रो जस्तो मुलुकमा ५ वर्षको लागि कर माफ गर्ने हो अथवा न्यूनतम गर्ने हो भने यो क्षेत्रमा पुँजी भएका व्यक्तिहरूको लाइन लाग्नेछ।

अब आएर यहाँ के भन्न सकिन्छ भने, समयअनुसार मजदुरहरूको पारिश्रमिक उद्योग व्यवसायीहरूले बढाउनुपर्छ भने मजुदरहरू पनि अनुशासनको दायरामा रहनु जरुरी छ। तर हाम्रो मुलुकमा यसको व्यवस्थापनमा कमी भएका कारण र सरकारको कमजोर नीतिले उद्योग व्यवसाय धराशयी हुँदै गएको देखिन्छ।

त्यस कारण यो क्षेत्रमा सबै पक्ष उत्तिनै इमानदार हुने हो भने उद्योग विकास भनेको कुनै ठूलो कुरा होइन। अहिलेको परिप्रेक्ष्यमा विदेशीहरूको दाँजोमा विकास बढाउने हो भने जति पनि उद्योग व्यापारमा आउने कच्चा पदार्थ छन् तीनको भन्सार दस्तुर केही समय घटाउनुपर्छ। यसो गर्नाले व्यवसायीहरू पनि उद्योग व्यापारमा आकर्षित हुन्छन्।

सरकारले सधैँको स्वार्थ त्यागेर के मनमा राख्नुपर्दछ भने, उद्योगी व्यापारी भनेको देशको आर्थिक मेरुदण्ड हो। त्यस कारण हरसमय यिनीहरूलाई प्रोत्साहन दिइराख्नुपर्दछ। अनि मात्र पुँजीपतिहरू ढुक्क भएर यो क्षेत्रमा आउनेछन्। जब मुलुकमा व्यापक बिजुली, पानीको सहुलियत हुन्छ तब न उद्योग व्यवसायको विकास हुन्छ, खाली भाषण र गफले यसको विकास हुने हो भने त हामी जमानादेखि नै धनी हुने थियौं। देशको जलविद्युत् क्षेत्रमा पनि कुरा गरेजस्तो विकास हुन पाइराखेको छैन। सरकारले यो क्षेत्रमा पनि कडिकडाउका साथै सहुलियत पनि दिएर अग्रसर हुनुपर्दछ।

समग्रमा भन्दा सरकार कडा हुन नसक्नु, भ्रष्ट व्यापारीहरूसँग मिल्नु, उद्योग व्यवसायलाई प्रोत्साहन दिन नसक्नु आदि कुराले उद्योग व्यवसाय फस्टाउन नसकेको हो। अर्को कुरा, प्रायः उद्योग व्यवसायको सरकार र नागरिकलाई ठग्ने मनसायले गर्दा पनि यस क्षेत्रको विकास नभएको हुनसक्छ। यसबाहेक कामदारहरू पनि अल्छी र आफ्नो दुनु सोझ्याउनका लागि विरोधमा उत्रने, बन्द–हडताल गर्ने प्रवृत्ति हाबी भएकाले पनि यो क्षेत्रमा नकारात्मक प्रभाव परेको छ। त्यसकारण औद्योगिक विकासका लागि यससँग सम्बन्धित सबै पक्षहरू परिवर्तन भएर लाग्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्