नेपालमा पनि नोटहरू तान्ने कि !



(दामोदर पौडेल)
मैले सुनेको थिएँ कि नेताहरूले पानी राख्ने ठाउँ, फोहोर राख्ने ठाउँ अनि बैंकमा राखे पनि अन्य व्यक्तिको नाउँमा पैसा राख्छन्। त्यस्तै उनीहरू पैसालाई सुनचाँदीमा परिणत गर्दछन्। उनीहरूले अरुको नाममा जग्गा आदि किन्छन्। विदेशमा पनि नेताहरूले आंफुले भ्रष्टाचार गरेर कमाएको पैसा राख्छन् भनिन्छ। जहाँ सामान्य मानिसको सोच र आंखा पुगेको हुंदैन त्यहाँ अपराधी र बेइमानको हालिमुहाली हुन्छ। गलततिर सामान्य नैतिकता हुनेहरूको ध्यान जांदैन, शायद।

भारतमा पनि एक हजार र पाँच सयका नोटहरू सरकारले बैकमा दाखिल गर्न लगाएर कालो पैसा, जाली नोट आदिलाई नियन्त्रण गर्न खोजेको होला। बैकका कर्मचारीसँग मिलेर जाली नोटहरू नै सक्कली बनाएर साट्ने काम भएमा त्यसको पनि अर्को जांच होला ? ती फालिने र पोलिने नोटहरूको सम्बन्धमा त्यति जांच हुंदैन कि ? हुन त भारतियहरू बाठा छन्। हामी जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवितालाई भने बंग्याएर भन्ने गथ्र्यौं– जहाँ नपहुँचे कवि वहाँ पहुँचे भारती। भारतियहरू सकारात्मक र नकारत्मक दुवै काममा माहिर छन्, कमसेकम हाम्रो नजरमा। शब्दको चयन पनि अचम्मकै छ। युद्धमा हार्दा पनि भारितय सेना बहादुरीका साथ पिछे हट्रही है भनिन्थ्यो अरे।

एउटाले फेस बुकमा भगवान्ले राम्रा युवती बनाएर छिमेकीका पत्नी बनाई पठाउँछन् भन्ने देखाउन पुगेछ। के गर्ने ? भगवानले धेरै राम्रा मानिस बनाउंछन् तर हाम्रो छिमेकमा अर्कै थरी छानेर पठाउँछन् भन्ने पनि फेसबुकवाटै नाकाबन्दी र मधेस बन्दताका देखिएको हो। नोटमा यी कुराको अर्थ के लाग्छ ? नोट पनि त राम्रै वस्तु हो तर जहिले पनि नराम्रा मानिसको हातमा बढी देखिन्छ, शायद राम्रा मानिसले लुकाएकाले हो कि ?

भारतले हजार र पांच सयका नोटहरू तानेर कति फाइदा गर्ने हो ? हेर्न बांकी छ। तर दुई हजारका नयां नोट बनाएकोमा ती नोटहरूसंगै नक्कली पनि आए भन्ने सुनिन्छ। भारतले यो योजना लागु गरेपछि खुसी हुने र दुखी हुने सँगै देखिएका छन्। यो अचम्मको विषय पनि होइन। हाम्रो पालामा दशैँपछि पानी परेमा धानमा दाना पुस्ट हुन्छन् भन्ने गरिन्थ्यो, धान पनि मंसिरको अन्त्यतिर पाक्थ्यो। त्यसै समयमा माटाका भांडा बनाउने काम पनि हुन्थ्यो। पानी परे किसानकोमा खुसीयाली कुमालहरूकोमा रुवाबासी, पानी नपरे किसानहरू चिन्तित र कुमालहरू खुसी हुने। केही पनि अचम्मको विषय र वस्तु रहेनछ सायद।

हाम्रोमा पनि हजारका नोटहरू तान्नु कस्तो होला भन्ने हल्ला फिँजिए राम्रै हुने थियो। अझै भारतले नेपाललाई दबाब नै दिएको भन्ने हल्ला चले अझै राम्रो हुने थियो। मानिसले पैसा गरिबलाई कागज गरेर दिने थिए होलान्। घरजग्गाको कारोबार अझै बढ्ने थियो होला। हुन त घरजग्गाको कारोवार पनि हात्ती आयो फुस्सा जस्तै हो। किनभने त्यही जग्गा २० बर्ष पहिला हजार थियो, अहिले लाख पर्दछ तर चिज त त्यही हो। केवल आकासे खेती मौलाउने र विकासको कुरा बिलाउने हो।

तैपनि नेपालमा अवैध कमाई उदांग हुने थियो कि ? सरकारले त्यो गर्न भन्दा पहिला पैसा सार्वजनिक गरेमा केही कर लिएर वैध गर्न सक्छ, किनभने नेपालमा नेताहरू सन्तान नै नभएका र साधु छैनन्। कर लिएर वैध नबनाउने हो अनि हजार र पांच सयका नोटहरू सरकारले तान्ने हो भने भारतको दलाली गरेको वा सिको गरेको भन्ने आरोप पनि लाग्न सक्छ। भारतको दबाबमा भएको भन्ने हल्ला चल्न सक्छ। हामी नसोची हल्लाकै पछि लाग्छौं, हल्ला चलाउनेलाई धन्यवाद दिन्छौं, भोट पनि दिन सक्छौं। हामीले हल्ला चलाएको भरमा माओवादीलाई भोट दियौं तर थाहा त भयो नि जुन जोगी आए पनि कानै चिरेका। रित्तिक रोसनले नेपालको अपमान गरे भनेर हामीले रित्तिक रोशनलाई कुट्न आफ्नै टिभी पनि फोरेका हौं।

नेपालमा त्यस्ता नमिल्ने कुरा धेरै नै हुन्छन्। तर सरकारले नोटहरूलाई सुद्धीकरण गरेर मानिसको पैसाको पनि सुद्धीकरण गरे फरक पर्ने थिएन। त्यो भन्दा पहिला सरकारका मन्त्री, सांसद, ठुला कर्मचारी र दलालहरूले थाहा पाउने हुंदा अनि विपक्षी र सरकारको पनि पैसा जोगाउनेमा एकता हुने हुंदा नोट तान्ने काम नेपालमा शायद हुंदैन होला। हामीलाई थाहै छ कि मन्त्री, संसद्, कर्मचारी आदिको तलव बढाउन कहिल्यै विरोध हुंदैन। जलविद्युत् आयोजना निर्माणका संवन्धमा भने विरोध भएको सुनिएको हो।

सरकारले हजार र पांच सयका नोटहरू तान्ने ब्यवस्था गर्दा धेरै नोटहरू लुके भने देशको पैसा हराएको जस्तो हुन्छ कि ? सायद त्यसको लागि सरकारले निस्कासित पैसा र जम्मा भएको पैसाको भिन्नताको आधारमा नोट निस्कासन गर्न पाउने हुन्छ होला ? अन्यथा ठुला नोट धेरै हराए भने देशको आर्थिक अवस्था नै चौपट हुन पनि सक्छ। विशेषतः विदेशी ब्यापारमा कठिनता आउन सक्ला। नोट जलाउंदा सवै मिलेर धेरै जालि नोट लिएर जलाउने र सक्कली नोट मिलिभगतमा वाहिर पठाउने काम भएमा देश अझै अप्ठेरोमा पर्ला। घरभित्रै नोट जलाउने काम पनि भारतमा भएको सुनियो। यस्तो हुनु र यसबाट पर्ने असरलाई कम गर्ने उपाय त अर्थविद्ले खोज्ने होलान्।

तर नेपालमा गलत कमाइलाई रोक्ने, हतोत्साहित गर्ने र गलत काममा पैसा एवम् समय लगाउने तथा विकास नहुने अवस्थालाई कसरी रोक्ने भन्नेमा सचेत हुने प्रविधि त आवश्यक छ। अन्यथा हामीले भन्ने गरेकै छौं कि पशुपतिनाथले रक्षा गरुन्।

प्रतिक्रिया दिनुहोस्