धुर्मुस–सुन्तली नयाँ अभियानमा



लोकप्रिय हास्य दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने सपना सार्वजनिक गरेका छन्। काभ्रे र सिन्धुपालचोकका भूकम्पपीडितका लागि आवास निर्माण गरेर समाजसेवीका रूपमा समेत चिनिएको दम्पतीले रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्म ज्योति प्रदर्शन समारोहमा आफ्ना कुरा राख्दै देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन्।

बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव हुने चर्चा गर्दै उनीहरूले त्यसका लागि नयाँ अभियानको शुरुआत गर्ने बताए। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको फिल्म ज्योति प्रदर्शन गर्दै उनीहरूले बालमैत्री देश निर्माणका लागि जनचेतना आवश्यकता महसुस गरेर नयाँ अभियान शुरु गरेको जानकारी गराए। पुनर्निर्माणमा जुटेको दम्पतीले त्यसका साथमा भविष्यका कर्णधार बालबालिकालाई हरेक क्षेत्रमा समान सहभागिता गराउन सके नेपालको भविष्य उज्जवल हुने बताए। करिब १५ सय जनाको उपस्थितिमा भएको उक्त कार्यक्रमपछि अधिकांशले हस्ताक्षर गरेर आफ्नो क्षेत्रलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।

रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले ज्योति फिल्मले आम नागरिकलाई बालमैत्री समाज निर्माणका लागि प्रेरित गरेको प्रतिक्रिया दिए। रामेछाप जिल्लालाई बालमैत्री जिल्ला घोषणाका लागि शुरु गरिएका कामलाई अब झन् तीव्रताका साथ अघि बढाउने प्रतिबद्धतासमेत उनले जनाए। कार्यक्रममा रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले सहज ढंगमा सबैले बुझ्ने गरी निर्माण भएको फिल्मले मानिसको सोचाई परिर्वतन गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।

सदरमुकामसँगै गाविसस्तरमा समेत बालमैत्री फिल्म ज्योति प्रदर्शन गरिने धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ। रामेछापसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, सिन्धुलीलगायत अन्य १६ जिल्लाका ३२ ठाउँमा फिल्म प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ। पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाहरूमा बालमैत्री समाज निर्माणको अभियान शुरु गरिएको र त्यसपछि देशैभर पुग्ने उनीहरूको योजना छ।

प्रतिक्रिया दिनुहोस्