‘खोलामा ढल मिसाउन बन्द गर’



मोतीराम तिमल्सिना, काभ्रे
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुसहितका विद्यार्थीको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघको सहभागितामा बनेपाको ऐतिहासिक पुण्यमाता खोलाको सरसफाइ शुरू गरिएको छ। प्रत्येक शनिबार पुण्यमाताको सरसफाइ गर्ने विद्यार्थीहरूले उद्घोष गरेका छन्।

केही वर्षअघिसम्म उक्त खोलामा नुहाउन मिल्ने पानी बग्ने भए पनि बस्ती विकास र नगरपालिकाको व्यवस्थापन फितलो भएकाले खोलामै ढल मिसाउने र फोहोर फाल्ने क्रम तीव्र हुँदै गएको थियो। बनेपाको पुलबजारबाट शुरू गरिएको अभियानमा केयूका विद्यार्थी र बनेपा नगरपालिकाका कर्मचारीहरू तथा उद्योग वाणिज्य संघका पदाधकारीहरूको सहभागिता रहेको थियो। उक्त अभियानका बारेमा जानकारी गराउन विद्यार्थीले बाजागाजासहितको र्याली गरेका थिए।

सरसफाइ अभियानको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले पूजा आरधना गरी शुरू गरेका थिए। पुण्यमाता खोलाको सरसफाइ अभियानमा विद्यार्थीले स्थानीयबासीको सहभागिता बढाउन र जनचेतना वृद्धि गर्न र्याली र झाँकीसमेत प्रदर्शन गरेको बताएका थिए।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्य आफैं फोहोर संकलन गर्न कस्सिएका थिए। वर्षौंदेखिको ढल, नल बगाउने गर्दै आएको पुण्यमति खोला उग्रचण्डी नालादेखि पनौतीसम्म प्रदूषित बन्दै आएको छ। सरसफाइ अभियानमा सहभागी बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुलीले यो अभियानले सफलता हात पार्नेमा आफू विश्वस्त रहेको बताए। पूजा आरधनापछि डा. रामकण्ठ माकजुले वातावरण प्रदूषित हुनुमा आफैं दोषी भएको भन्दै आफैंले सफा पनि गर्नुपर्ने बताए। अभियानमा बनेपा नपा वडा ६ का वडा नगारिक मञ्चका उपसंयोजक शुभलक्ष्मी मानन्धरलगायतका केही स्थानीय मात्रै सहभागी भए। ‘पुण्यमाता वरिपरि बस्ने स्थानीयलाई जनचेतना जगाउन नगरपालिका क्रियाशील हुनुपर्छ, नगरपालिकाले जम्मा गरेको फोहोर कहाँ फाल्ने भन्ने जानकारी दिन नसक्दा र फोहोरको व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले फोहोर खोलामा लगेर मिल्काएका हुन्’ –मानन्धरले भनिन्। बनेपा नगरपालिकाले फोहोर फाल्दै आएको ठाउँमा फोहोरकै टापु छ। उक्त क्षेत्र पुण्यमाता खोलाको श्रीखण्डपुर क्षेत्रमा पर्दछ। खोला सरसफाइृमा विश्वविद्यालयका विभिन्न तहका २ सय विद्यार्थीले सहभागी भएका थिए।
काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले अभियानलाई आफूहरूले स्वागतयोग्य कदम मान्दै साथ र पूर्ण रूपमा सहयोग गर्ने बताए। विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर अभियानका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्