भारु सटही गर्न राष्ट्र बैंकले तयारी थाल्यो



नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित पाँच सय र हजार दरका भारु सटहीका लागि तयारी थालेको छ। राष्ट्र बैंकले भारु सटहीका लागि बिहीबार समिति गठन गरेको छ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठन भएको सो समितिले भारुको आन्तरिक व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका विभिन्न विषयमा तयारी थालेको हो। समितिको शुक्रबार बसेको पहिलो बैठकले कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले नेपाल समाचारपत्रसँंग कुरा गर्दै भन्नुभयो–‘आजको बैठकले भारुका विषयमा कसरी अगाडि बढ्ने भन्ने एउटा मोडालिटी तयार भएको छ।’ गत बिहीबार बनेको समितिले यस सम्बन्धमा काम गर्ने प्रवक्ता पौडेलले बताउनुभयो।

प्रवक्ता पौडेलका अनुसार शुक्रबारको सो बैठकले नक्कली नोट सटही रोक्ने, भारु सटहीलाई व्यवस्थापन गर्ने तथा भारतीय सीमाबाट थप भारु भित्रिन नदिने लगायतका विषयमा छलफल भएको छ। साथै नेपालमै भएका वैधानिक नोटहरू साट्ने विषयमा पनि छलफल भएको छ।

भारु साट्ने तयारी मात्र होइन पहलसमेत गरेको राष्ट्र बैंकले जनाएको छ। प्रतिबन्धित नोट साट्ने संकेत भारतले दिएपछि राष्ट्र बैंकले तयारी थालेको हो। ‘नेपालसँग भएका वैधानिक भारु कसरी साट्ने भन्ने विषयमा हामी निकै लागि परेको छौं।’ प्रवक्ता पौडेलले नेपाल समाचारपत्रसँंग भन्नुभयो। भारु सटही हुने आशाले राष्ट्र बैंकले तयारी थाले पनि भारतले साट्ने भन्ने निधो नदिएसम्म तत्काल सटहीको कुनै सम्भावना नरहेको पनि प्रवक्ता पौडेलले बताउनुभयो। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति नेपालीले हजार र पाँच सय दरका २५ हजार भारु साट्न पाउने गरी राष्ट्र बैंकले तयारी थालेको हो।

साथै भारु साट्ने व्यक्तिले आफ्नो आम्दानीको स्रोत वैध भएको पुष्टि गर्ने, नोट नक्कली भए आफैं जिम्मेवार हुनुपर्ने तथा एउटा बैंकबाट हजार र पाँच सय दरका २५ हजार भारुसम्म साटिसकेपछि अर्को कुनै पनि बैंकबाट साट्न नपाउने जस्ता व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। बिहीबार व्यवस्थापिका संसद्को अर्थ समितिले हजार र पाँच सय दरका भारु सारेर सर्वसाधारणलाई राहत दिने गरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

बिहीबार गठन भएको डेपुटी गभर्नर शिवाकोटीको संयोजक रहेको उक्त समितिमा बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनकबहादुर अधिकारी, विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगाना, अर्थमन्त्रालयको वित्त व्यवस्थापन महाशाखाका प्रमुख, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाह तथा विकास बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने सदस्य रहेका छन्। सो समितिले आगामी आइतबारसम्म भारु साट्ने तयारी सक्ने गरी काम गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) सँग भारु सटहीका लागि निरन्तर पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्