व्यवसायीसँग रहेको भारु जोखिममा



वीरगन्जका २५ भन्दा बढी प्रतिष्ठित व्यापारिक घरानासँग पाँच सय र हजार दरका करोडौं भारतीय नोट रहेको पाइएको छ। भारतमा भारतीय मुद्रामै नगद कारोबार हुने भएकाले ती व्यापारिक घरानासँग पर्याप्त भारतीय रुपियाँ रहेको व्यवसायीहरूले बताएका छन्। एकपटकमा एक व्यक्तिले २५ हजार भारतीय रुपियाँ ल्याउन, लैजान वा सञ्चिती गर्न सकिने व्यवस्था भए पनि व्यापारीसँग करोडौं रुपियाँ सञ्चिती रहेको स्रोतले बताएको छ। भनेको बेला भारतीय नोट साट्न नपाएका कारण पनि भारतीय नोटको अधिक मौज्दात राख्न आफूहरू बाध्य भएको वीरगन्जका व्यापारीले बताएका छन्।

भारत नगद अर्थतन्त्र अर्थात क्यास इकोनोमी भएको मुलुक भएकाले कारोबारको ठूलो हिस्सा नगदमै हुने गरेको छ। नेपालको मुख्य व्यापार भारतमै निर्भर रहेकाले सामान आयात गर्दा भारतीय रुपियाँमै भुक्तान गर्नुपर्छ। नेपाली व्यापारीसँग रहेको भारतीय नोट सटही गर्न भारतले अस्वीकार गरे अर्बाैं रुपियाँ कागजको खोस्टा सरह हुनेछन्। नेपालमा २०५७ सालदेखि प्रतिबन्धित पाँच सय र हजारको भारतीय नोट २०७१ माघदेखि पुनः प्रचलनमा आएको थियो। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र रकम सटही गर्न इजाजत प्राप्त संस्थामा गरी ३ करोड ३६ लाख ९० हजार भारतीय नोट रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताउनुभयो। भारतसँग सिधा व्यापार गर्ने व्यापारी र भारतमा काम गरेर फर्किने नेपालीसँग गरी नेपालमा करिब १५ अर्ब भारतीय रुपियाँ रहेको अनुमान गरिएको छ।

भारतीय प्रतिबन्ध लगाइएका नोटहरूको सटही हुन नसकेको खण्डमा आफूहरूलाई प्रत्यक्ष असर पर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले जानकारी दिनुभयो। उहाँले वैकल्पिक व्यवस्था नभए वीरगन्जका व्यवसायी र उद्योगीहरूको करोडौं भारतीय रुपियाँ जोखिममा पर्ने हुँंदा यसको उचित व्यवस्था गर्न माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्