निक इलेक्ट्रो टेक शुरू



नेपाल समाचारपत्र
काठमाडौं
विद्युत् तथा विद्युतीय व्यवसायसँग सम्बन्धित ‘निक इलेक्ट्रो टेक २०१६’ राजधानीमा शुरु भएको छ। शुक्रबार मेलाको उद्घाटन ऊर्जामन्त्री जनार्दन शर्माले गर्नुभयो।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा गरेको आठौं संस्करण भएको यस प्रदर्शनीको शीर्ष प्रायोजक नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक) ले रहेको छ। पाँच दिनसम्म चल्ने यस प्रदर्शनीले देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिइएका छन्।
कार्यक्रममा नेपालमा वार्षिक ७० देखि ८० अर्ब रुपियाँको विद्युतीय कारोबार हुने गरे पनि यसमा नेपालीको उत्पादनको हिस्सा जम्मा १० प्रतिशत मात्रै रहेको निकका कार्यकारी निर्देशक एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले बताउनुभयो। उहाँले प्रदर्शनीको ठूलो महत्त्व रहे पनि सरकारले यसको महत्व नबुझेको र चासो नदिएको गुनासो गर्नुभयो।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षित कसरी गर्ने भन्नेमा सरकारको ध्यान जानुपर्छ भन्दै कुनै पनि आयोजना बनाएपछि ३० देखि ३५ बर्षभित्र सरकारकै हुने भएकाले त्यसलाई निजी क्षेत्रको हो भन्ने हिसाबले सरकार र राजनीतिककर्मीले हेर्न नहुने धारणा राख्नुभयो। सरकारले १५ प्रतिशतसम्म महंँगो भए पनि नेपाली वस्तु नै उपयोग गर्ने सम्बन्धी नियमावलीलाई प्रभावकारी कार्यान्वयनमा आउन नसेको बताउनुभयो।
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले विद्युतको उत्पादन वृद्धिसँगै विद्युतीय व्यवसायको आकार पनि बढेर जाने भन्दै यसको महत्व र आवश्यकतालाई सरकारले ध्यान नदिँदा यस क्षेत्रमा लगानी पनि बढन नसकेको बताउनुभयो। उहाँले गुणस्तरीय विद्युतीय सामग्री मात्रै आयात गर्ने र कच्चा उद्योगलाई चाहिने कच्चा पदार्थको आयातमा भन्सार महशुस १० प्रतिशतमा सीमित गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्