“न्यायालयमा कहिलेकाहीं भ्रष्टाचारको हावा पनि बग्छ”



शिवहरि भट्टराई, राजविराज
धानन्यायाधीश सुशीला कार्कीले ‘मुद्दा हार्यो कि न्यायाधीशले घूस खायो’ भन्ने चलनले न्यायालयको बदनाम भइरहेको बताउनुभएको छ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको दर्शन गर्न सप्तरी आउनुभएकी कार्कीले राजविराजस्थित उच्च अदालत जनकपुर, राजविराज इजलासमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।
‘न्यायालयभित्र भ्रष्टाचार र राजनीतिक प्रभाव छैन चाहिँ भन्न सकिँदैन’, उहाँले भन्नुभयो– ‘तर, जुन रूपमा भ्रष्टाचारको कुरा बाहिर आउँछ, त्यो अनुपातमा चाहिँ छैन।’ उहाँले भ्रष्टाचारलाई निर्मूल गर्न र अदालतहरूलाई बलियो बनाउन आफूहरूको प्रयास निरन्तर जारी रहेको पनि बताउनुभयो।
‘न्यायालयमा कहिलेकाहीं भ्रष्टाचारको हावा पनि बग्छ’ उहाँले थप्नुभयो– ‘त्यो हावाले राम्रा छविका न्यायाधीशमाथि पनि दाग लगाउने गरेको छ।’ उहाँले कुनै तलाउमा एउटा मरेको भ्यागुतो परेकै कारण पूरै तलाउ नगनाउने तर्क प्रस्तुत गर्दै कुनै एउटा व्यक्तिले गरेको गल्तीका आधारमा न्यायालयकै बदनाम गर्न नहुने बताउनुभयो।
भ्रष्टाचार एक्लै कसैले गर्न नसक्ने बताउँदै उहाँले दिने व्यक्ति पनि भ्रष्टाचारी भएको जिकिर गर्नुभयो। न्यायालयमा रहेको राजनीतिक प्रभावका बारेमा बोल्दै कार्कीले अहिले मुलुकमा राजनीतिबाट कोही पनि अछुतो नरहेको बताउनुभयो। तर, राजनीतिको प्रभाव न्याय क्षेत्रमा नपरेको उहाँको भनाइ थियो। ‘राजनीतिबाट अछुतो चाहिँ कोही पनि छैन, तर यो क्षेत्रमा आएपछि चाहिँ राजनीतिक विचार बन्द गर्नुपर्छ’ –उहाँले भन्नुभयो।
समावेशी र समानुपातिक सुविधाका लागि संविधान र कानुनले नै व्यवस्था गरिसकेकाले त्यसको प्रभावकारी कार्यान्यन हुनुपर्नेमा उहाँको जोड थियो। ‘संविधान र कानुनमा व्यवस्था भएपछि समावेशी, समानुपातिक सुविधा लागू हुनुपर्छ’, उहाँले भन्नुभयो– ‘तर त्यसो गर्दा योग्यतालाई पनि ख्याल गर्नुपर्छ।’
प्रधानन्यायाधीश कार्कीले उच्च अदालत जनकपुर, राजविराज इजलास र मलेठ गाविसस्थित अदालत भवन निर्माणका लागि ठीक पारिएको जग्गाको निरीक्षणसमेत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्