भेरीमा सिकलसेल जाँच्ने मेसिन सञ्चालनमा



नेपाल समाचारपत्र
बाँके
भेरी अञ्चल अस्पताल, नेपालगन्जमा सिकलसेल एनिमियाका बिरामीलाई जाँच्ने उपकरण सञ्चालनमा आएको छ।दशैंअघि आएको ‘सेभिया’ कम्पनीको उपकरण जडान गरिएको हो। एक घण्टामा नौवटा स्याम्पल जाँच हुने मेसिन सञ्चालनमा आएसँगै थारू जातिमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेलका बिरामीलाई ठूलो फाइदा हुने आशा गरिएको छ।

२८ लाखको मेसिन सञ्चालनमा आएसँगै यस क्षेत्रका सिकलसेलका बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालमा जाँच गर्ने समस्या हटेको छ। सिकलसेलका बिरामीको जाँच निजी ल्याबले २ हजार रुपियाँ लिएर गर्दै आएका थिए। भेरी अञ्चल अस्पतालले १ हजार रुपियाँमा जाँच गर्ने जनाएको छ।

दैनिक ८⁄१० जना फ्लोअपमा आइरहने र दैनिक १⁄२ जना नयाँ बिरामी भेरीमा आउने गरेको डा. राजन पाण्डेले बताउनुभयो। मेसिन चलाउने तालिम लिएर आएका प्राविधिक प्रदीप वलीले सिकलसेलका बिरामीले छिटो, सस्तोमा सेवा पाएको बताउनुभयो। साधारण भएकाले एक दिनमा र रोग देखिएकाले दुई⁄तीन दिनमा रिपोर्ट आउने वलीले बताउनुभयो। ‘भेरीमा रगत जाँच गरेपछि साधारण देखिएन भने त्यसलाई पुष्टि गराउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइन्छ’, वलीले भन्नुभयो– ‘उताबाट प्रमाणित भएर आएपछि रिपोर्ट दिन्छौं।’
भेरी अञ्चल अस्पतालका डाक्टर पाण्डेको सम्पर्कमा १ हजार आसपासमा सिलकसेलका बिरामी आएका छन्। रगत जाँच गर्ने उपकरण नहुँदा उनीहरू भारतको हरियाणा पुगेर रोग भए⁄नभएको पत्ता लगाउने गर्दथे। केही समययता नेपालगन्जमै निजी ल्याबले रगत जाँच गर्ने गरेको छ। उसले एउटा जाँच गर्दा २ हजार लिने गर्दछ।

प्रतिक्रिया दिनुहोस्