जिल्ला स्वास्थ्यमा व्यापक अनियमितता



मोतीराम तिमल्सिना, काभ्रे
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेमा व्यापक अनियमितता भएको छ। विशेष गरी कर्मचारीहरूको नियुक्ति र कार्यक्रमहरूमा कमिसनको बार्गेनिङ गर्दै शाखा प्रमुखहरू र कार्यालय प्रमुखले समेत रकम लिएको सेवाग्राहीले गुनासो गरेका छन्।

जिल्लामा चौथोपटक सरुवा भएर आएका कार्यालय प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले पार्टी निकट कार्यकर्तालाई नियुक्ति दिलाउन अन्तिमपटक काभ्रे सरुवा हुन रकम दिएर सेटिङ मिलाएको खुलासा भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकमा औषधि तथा अन्य कार्यक्रमहरूमार्फत् ब्र≈मलुट गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय पछिल्लो समय कार्यालय प्रमुखदेखि शाखा प्रमुखहरूले समेत लैनो गाई जस्तै बनाउन थालेका छन्। त्यसको पछिल्लो उदाहरण जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन सापकोटालाई लिन सकिन्छ। उनी नेपाली कांग्रेसका पूर्वसभापति शिव हुमागाईंको छनोटमा परी चौथोपटक जिल्लामा प्रमुखका रूपमा कार्यरत छन्। कार्यालय सहयोगीको विज्ञापन गरिएको र त्यहाँ आफ्ना कार्यकर्तालाई नियुक्त गर्न हुमागाईंले जिल्ला आउनु अघि ४१ जनाको सूची बुझाएपछि त्यसमा तयार भएर डा. सापकोटा जिल्लामा आएका हुन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको कोटाबाट मन्त्री भएका गगन थापालाई रिझाउँदै हुमागाईंले पार्टी सभापति मधु आचार्यलाई समेत उछिन्दै डा. सापकोटालाई काभ्रे ल्याएका हुन्। यसअघि विभिन्न एनजीओ तथा सरकारी कार्यक्रममै अनियमितता गरी बदनाम कमाएका डा. सापकोटाले औषधिको किनबेचमा समेत मोटो रकम कमिसन लिएको चर्चा छ।

तर उनले अहिलेसम्म उक्त परीक्षाको रिजल्ट प्रकाशन गर्न सकेका छैनन्। यसअघि जिल्लामा प्राप्त भएका विभिन्न राष्ट्रिय कार्यक्रमहरूमा समेत कमिसनविना सम्पन्न नहुने भन्दै रोक्ने गरेका छन्। कात्तिक २९ गते जिल्लालाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रम समेत उनै सापकोटाका कारण रोकिएको छ। मन्त्री गगन थापालाई प्रमुख अतिथि बनाउने चर्चा गरेर विज्ञापनसमेत प्रकाशन गरेपछि सापकोटाले तरुण दलको महाधिवेशनमा मन्त्री गएकाले आउन नपाएको भन्दै स्थगित गरेको बताए।

उता केही महिना निमित्त पाएका राजाराम अधिकारी मंगलबार दिउँसै कार्यालयमा मादक पदार्थ सेवन गरी ढलेपछि कर्मचारीले प्रहरी बोलाएर बुझाएका छन्। स्वास्थ्य कार्यालयकै क्वाटरमा रक्सी खाएर झुम भएका अधिकारी मंगलबार निमित्त प्रमुख थिए।

रक्सीले मात्तिएपछि कर्मचारीहरूले उनलाई प्रहरी बोलाएर पक्राउ गराएका थिए। उनले कार्यालय प्रमुख भएर चलाउँदा पनि त्यस्तै अनैतिक कार्यहरू गरेको बताइएको छ। यता स्टोरका प्रमुख सुब्बा कृष्णहरि गेलालले पनि औषधि हिनामिना गरेको स्रोतले बतायो। गाउँगाउँमा पठाउनुपर्ने औषधिलगायतका अन्य सामग्रीमा अनियमितता गरेको भन्दै कर्मचारीले गुनासो गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्