यादवलाई सेनाको सहयोग



नेपाल समाचारपत्र
भद्रपुर
नेपाली सेनाका जवानले झापा भद्रपुर नगरपालिका–६ बस्ने बृजपाल यादवलाई सहयोग गरेका कारण पुनर्जीवन पाएका छन्। रेल दुर्घटनामा परी घुँडादेखि तल्लो भागका दुवै खुट्टा गुमाएर घरमै बसेका ३३ वर्षीय यादवलाई नेपाली सेनाका जवान विजय कार्कीले निःस्वार्थ सहयोग गरेका हुन्।
शनिश्चरे–५ हाल भद्रपुर १५ बस्ने कार्कीको सहयोगमा उनलाई निःशुल्क उपचार गराई दुवै खुट्टामा प्लास्टिकको कृत्रिम खुट्टा लगाएपछि यादव पहिलाजस्तै हिँडडुल गर्न सक्ने भएका छन्।

यादवको पीडा देखेर कार्कीले आफ्नै पहलमा काठमाडौं लगी उपचार गराइदिएको सेनाका जवान कार्कीले बताए। सैनिक पुनःस्थापना केन्द्र काठमाडौंमा आफूसँगै राखेर उनलाई चार महिना निःशुल्क उपचार गराई कृत्रिम खुट्टा लगाइदिएको उनले बताए। आर्थिक अवस्था कमजोर भएका यादवलाई हिँडडुल गर्ने अवस्थामा पुर्याएर मानवताको धर्म मात्र निर्वाह गरेको उनको भनाइ छ।

शारदा आधाभूत विद्यालय भद्रपुर अगाडि सानो किराना पसल थापेर गुजारा गर्दै आइरहेका यादव दुवै खुट्टा गुमाएर निराश तथा पीडादायी जीवन बिताइरहेका थिए। उपचारका लागि रकम अभाव भएकाले तीन वर्षसम्म सहारामा घर आँगनभित्रै दिन बिताउनुपरेको उनले पीडा सुनाए।
उनले आफ्नो यस्तो पीडादायी जीवन देखेर नेपाली सेनामा कार्यरत कार्कीले गरेको सहयोग उल्लेखनीय रहेको बताए। कृत्रिम खुट्टाकै मद्दतले साइकल चलाएर जहाँ पनि जान सकिने अवस्थामा पुगेकाले कसैको सहारा माग्नु नपरेकोमा आफैंमा सन्तुष्ट र खुसी बनेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्